जिन्दगीको यस्तो मोड, साँधुरो गोरेटोमा भेट्टियौ तिमी

न बाटो छोड्न सक्छु तिम्रो लागि, न छोड्न सक्छु तिमीलाई नै!

 

सायद तिमी पो ढिलो भेट्टियौ कि ?

वा मैले तिमीलाई खोज्न हतार गर्नु पर्थ्यो कि ?

आज आफ्नै जिन्दगीले किन यति हतार गरिरहेछ

नियतिको यस्तो चौतारीमा भेट्टियौ तिमी

न म पर्खी बस्न सक्छु, न छोडिजान सक्छु तिमीलाई

 

केही दिनको लागि मात्र किन भेट्टियौ तिमी !

यौवनका रहर, सपना सारा अधुरै रहे, अपुरै रहे

यस्तो लाग्दै छ, तिमी नभेट्टिएकै भए हुने बरू

यो मनको गह्रौँ भारी बोकी हिड्दाँ यस्तो दोबाटोमा भेट्टियौ

न गन्तव्य सम्म पुर्याउने सक्छु, न सक्छु आफ्नै यात्राको सहयात्री बनाउन

 

कास ! यो जिन्दगीको केही वसन्त पहिले मात्र भेट्टिन्थ्यौ भने पनि

यो यात्रा यति हतारमा हुने थिएन, यति छोटो हुने थिएन

अब त मलाई जानु नै छ, छोडेर यो सारा संसार

माफ गर्नु प्रिय मलाई, म तिम्रो भएर पनि तिम्रो हुन सकिनँ

 

दैव सञ्जोग नै भनुँ, जिन्दगीको यस्तो पलमा भेट्टियौ तिमी

न भुल्न सक्छु तिमीसँग बिताएको समय, न भुल्न सक्छु तिमीलाई नै ।

 

अजिरकोट गाँउपालिका, गोरखा