
कुरिरहन्छ
एक जोडी हात
सर्पजस्तै सल्बलाउन
डस्ने मौका कुरेर
शिशु, बालिका, किशोरी
युवती, महिला, वृद्धा
केही जान्दैन
केही मान्दैन त्यो हात
चिल, गिद्धका जस्ता
शिकारी आँखा लिएर
मन्दिर, बस होस् वा सार्वजनिक स्थल
घर छिमेक होस् या कार्यालय
गाउँ होस् या शहर
शिकार खोज्न डुलिरहन्छन्
बस शान्त पार्न चाहन्छ
आफूभित्र उम्लिरहेको
अतृप्त टेस्टोस्टेरोनलाई
छाती ठोकेर
‘तिमी’ भन्न सक्छौं
ती हातहरू
मेरो हुँदै होइन
नाबालिकाको देहमा
सर्पजस्तै
मेरा हात कहिल्यै सल्बलाएनन्
भनेर कसम खान सक्छौं
तिम्राजस्ता हातहरू
इतिहासका हरेक कालखण्डमा थिए
कसैको आमा, हजुरआमा र दिदी बहिनी अछुतो छैनन्
सबैलाई डसेकै थिए
तिम्रैजस्ता हातले
तिमीले अरुलाई डस्यौं
उसले तिम्रो परिवारका छोरीचेली
दिदी बहिनीलाई
आफ्नो अन्तरआत्मालाई नढाँटी
मैले गरेकै होइन भन्न
सक्छौं ‘तिमी’ ?
छिमेककै ७० वर्षे
एक वृद्ध काखमा बसालेर
आफ्नै नातिनीको उमेरकी बालिकालाई
अरुको आँखा छलेर
घिनै नमानी
सर्पजस्तै हातलाई
चलाइरहन्छन् बालिकाको शरीरभर
बालिका अवाक् बसिरहन्छे
चकलेट दिने बहानामा
कति राम्री तिमी भन्दै
गाला छुने बहानामा
निर्लज्ज
घिनलाग्दो अर्को जोडी हातले मुसार्छ
निर्दोषको गाला
कहिलेकाहीँ देखिएका
थोरै चिनजान भएका मुहार
कहिलेकाहीँ बाटोमा बस वा मन्दिरका
भिडमा भेटिने अपरिचितहरूले
छोएका छन् पटक पटक शरीर
चिमोटिदिएका छन्
कयौं पटक
भर्खरै पलाउँदै गरेका
किशोरी स्तनलाई
झट्ट हेर्दा चिन्नै सकिन्न
इच्छाधारी नागझैं
हातको भेषमा
हरेक घरमा लुकेर बसेका छन्
सर्पजस्तै सल्बलाउने हातहरू
हरेक रात
सपनामा प्रायः
तेरो मुटु त
हेर्दै मिठो होला भन्दै
सर्पझैं सल्बलाउँदै
अस्तित्व लुट्न आउँछ
डरलाग्दो एक जोडी हात
भन्दै रुन्छे मेरी बहिनी
सर्प झैं सल्बलाउने हातहरू देखेर
मेरो मुटु हर दिन डरले काम्छ
मलाई सर्पदेखि असाध्यै डर लाग्छ
किनकि मेरो एउटा बालख छोरी छ
तिम्रो पनि त छ
सर्पझैं सल्बलाउने अरुको
हात सम्झेर
तिम्रो मुटु चसक्क हुन्छ कि हुन्न ?
भनिदेऊ न सर्पझैं सल्बलाउने हातहरू ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

