मेरी पुतली

 

ए मेरी प्यारी पुतली
मेरो घरमा आइज
मेरा साथी कोही छैनन्
मलाई लिएर जाइजा ।

आकाश-आकाश उड्दै
जून छुन जाऊँला
बादलभित्र लुकामारी खेली
घर फर्की आऊँला ।

मेरो घरको फूलबारीमा
सधैँ भेट्न आउनु है
मेरी आमा बजार जाँदा
मिठाइ राखिदिउँला है।

मेरो मात्र साथी बन्नू
अरूतिर नजानु है
तँ मेरी पुतली रानी
सधैँ उड्दै आउनु है।

फूलबारीमा पर्खिरहनेछु
बाटो कुर्दै तँलाई
यदि तँ आइनस् भने
कहिल्यै साथी नभन्नु मलाई ।

कोही बेला मेरा घरमा
डोरेमन र सिञ्चेन हेरौंला
कोही बेला फेरि आँगनमा बसी
भाँडाकुटी खेलौँला ।

०० ०० ००

मोबाइल फोन

मोबाइल फोनमा झुण्डिबस्ने
बानी नराम्रो
नचाहिँदो गेम खेल्ने
आदत नराम्रो।

राम्रो कुरा हेर्न गरे
यही हो महारानी
नराम्रो कुरा हेर्न गरे
बन्छौँ खरानी।

हाथ हातमा मोबाइल बोकी
के गर्छौ बात
यसकै पछि लागेमा
छुट्नेछ सबको साथ।

साना-साना नानीहरू हो
धेरै मोबाइल नखेलाऊ
धेरै पढ़ी ज्ञानी बन्नुछ
मोबाइमामा समय नफालौँ।

समयको सदुपयोग गर्ने बानी
आजै सबैले सिक्नुपर्छ
मोबाइल फोनमा झुण्डिबस्ने
कुआदतलाई चाड़ै छाड़्नुपर्छ।
०० ०० ००

 

खोला

बग्दै बग्दै नजाऊ खोला
पर्ख मलाई पनि
किन हिँड्छौ एक्लै तिमी ?
लैजाऊ मलाई पनि ।

कहाँसम्म यात्रा तिम्रो
कहिले पुग्ने होला ?
हाम्रो जीवन खोलाजस्तै
कहाँ गइ टुङ्गिने होला ।

कहिले उर्लिएर बग्छौ तिमी
कहिले मन्द गतिमा
सुख-दुखको सामना गर्दै
बड्नु रहेछ अघि जीवनमा ।

परोपकारको पाठ सिकाइ
तिमी अघि बड्छौ
कहिल्यै थाक्नु हुन्न भन्ने
सन्देश सबलाई बाड्छौ ।

तिम्रो निर्मल जल
गङ्गा जलझैँ पवित्र रहेछ
सबैतिर हरियो पार्ने
तिम्रो उदेश्य महान् रहेछ ।

ए खोला!
बग्दै जाऊ, बग्दै जाऊ
नपख अब कसैलाई
तिम्रो अविराम यात्रालाई
पछ्याउनु त रहेछ हामीलाई ।

लोधोमा-२, दार्जीलिङ ।