आखिर बैमान को हो?
मैले बुझ्न नजानेको कि
जानेर नबुझेको?
मेरा आँखाले नदेखेको कि
देखेर चिम्लेको?
म अन्योलमा छु
आखिर बैमान चैं को हो?

पैँचो साट्ने छिमेकी ठुस्स पर्छ
म दिन खोज्छु हतार गर्छ
म लिन खोज्छु मुन्टो बटार्छ
हिजोसम्म
तिहुन बाँडेर खान्थ्यो
उता पाके दिन्थ्यो, यता पाके लान्थ्यो
फुर्सदमा गफ गर्थ्यो
काममा सघाई दिन्थ्यो
तर अचेल
एकोहोरो भा छ मैले सुन्नु पर्ने
म भन्न खोज्छु कान थुन्छ
सुनी हाले बहिरो हुन्छ
अहिले अन्योलमा छु
आखिर बैमान चैं को हो?

म साँध लगाउँछु किलो उखेल्छु भन्छ
किन? सोधे उल्टो धकेल्छ
कुलो छ पानी दिँदैन, पानी छ कुलो दिँदैन
मेरो आँगन सधैँ टेक्छ
ऊ बार लगाउँछ
समाचार बनाएर अखबार मगाउँछ
यस्ले बिगार्यो भन्छ दोष लगाउँछ
म बनाउँछु ऊ बिगार्छ
ए विधाता
कुन साइत मा यस्ताको छिमेकी भएछु
उसको दाउ रहेछ मख्ख परेर गएछु
त्यसैले होला अचेल
उसको हेपाई सहनु पर्ने
ईशारामा रहनु पर्ने
कति अचम्म
म पो अन्योलमा छु
आखिर बैमान चैं को हो ?

हुन त मैले पनि गल्ती गरेकै हो
त्वम् शरणम् परेकै हो
छोरा नातिको कुरो सुनिन
उसको रणनीति ठ्याप्पै बुझिन
दिएको सबै धक फुकाएर खाएँ
सधैं देऊ बाचा गरेर आएँ
मल दिन्छु भन्यो जल दिएँ
फल दिन्छु भन्यो जमिन दिएँ
सन्तानको भोलि बिर्सिएँ
आमाको चोली बिर्सिएँ
पछुतो लाग्छ तर के गर्नु
वचनमा ओजन लिन नहुने
सित्तैमा भोजन खान नहुने
खाएपछि चुक्ता गरेको भए
फुर्तीका साथ हिँड्न पाइने
निहुँ खोजे गिँड्न पाइने
वीरताको चिनारी मासेकै हो
पुर्खाको रगत माथि नाचेकै हो
त्यसैले त अचेल
खप्पर समाएर सोच्दैछु
आखिर बैमान चैं को हो?

शान्त घर थियो अशान्ति भयो
अब के गरौं सोच शून्य रह्यो
रिसाए परिवार फकाउन गारो
चुलो निभ्यो पकाउन सारो
भकारी रित्तो कसरी पाकोस्
आ… जे सुकै होस्
जो जाग्दछ जागोस्
भोकै बसून् या पेट भरिरहून्
बाँचे बाँचून् या सबै मरून्
मेरो आफ्नो महल छँदैछ
ऐश आरामको हलचल छँदैछ
कराई रहोस्
या नारा घन्काई रहोस्
आगो लगाई दियोस्
या सडक तताई दियोस्
अझै लुट्छु जे जे होला होला
लुटेर नै बाँच्छ अबको चोला
बस्न दिउन्जेल यतै रहुँला
खेद्न आए विदेश बसौंला
आर्जेको जति उतै लुकाउँदा
बेसै होला यता सुकाउँदा
भन्छु नि
तर मन मान्दैन
निदाउन सक्दिनँ रातै जाँदैन
खै के गरियो अझै अन्योलमा छु
आखिर बैमान चैं को हो?

मैले बुझ्न नजानेको कि
जानेर नबुझेको?
मेरा आँखाले नदेखेको कि
देखेर चिम्लेको?
अहँ म अन्योलमा छु
आखिर बैमान चैं को हो?