डाँडा, काँडा
हिम शिखरको
यो मेरो प्यारो देश

हरेक प्यासीलाई
जीवन दिने
जलस्रोतको धनी
यो मेरो सुन्दर देश

देश देशान्तरमा चिनिएको
पर्यटकहरूको
यो मेरो प्यारो देश

कतै रहेन स्वच्छ आज
विकृतिले लम्ब्याएको
यो मेरो देश

कोलाहल घनघोर मानव बस्तिमा
असहाय वन्यजन्तु
एकपछि अर्को
बिलाएको मेरो देश

खुल्ला आकाशमा छाँएको
ध्वाँसे वायुको धुलोमा
निसासिएको पंक्षीले
आज बासस्थान सार्न
बाध्य मेरो देश

सम्झन्छु ती अतितहरूलाई
आँखाबाट निर्मम आँसुहरू निस्कन्छ
बाध्य
मेरो आँसुहरूले
म पखाल्दैछु आज
यो धर्ती आमाको चेहरालाई

असहाय बनेका छन् नदी
स्वच्छ पानीको अभावमा
हरेक घर भान्छाको
फोहोरले ढाकेको छ
खोलाको सुन्दर रुपलाई

अनि सलबलाइरहेको छ खोला
हरेक घरबाट निस्केको
ढलहरूको नालीले

लाजले भनौँ या बाध्यताले भनौँ
लुकाएर हिँड्दै छु आज
आफ्नो सुन्दर मुहारलाई

पंक्षी पङ्ख फिँजारेर उड्थ्यो
खुल्ला आकाशहरूमा
तिनै चञ्चलतामा म हिँड्थे
दर्शनदिशाको पाइलाहरूमा

खेल्थे, रमाउँथे
ती सुन्दरताहरूमा

यही स्वच्छ वातावरणको
चौतारीमा सपना देखेको दिन
अनि स्वच्छ खोलाको पानीमा
आफूलाई स्फूर्ति पाएको पल

कहाँ लुकेको छ होला ?
ती
ब्रहमा, विष्णु, महेश्वरले
रचेको सुन्दर मेरो देश

मानिसमा जनचेतना नभएर हो ?
या
नैतिकताको कमीले हो

म कुन दलदलमा बाँच्दैछु आज
म कुन स्वच्छताको सास लिदैँछु आज
झस्कन्छु
आज यो घनघोर बस्तीको समाजमा

अव्यवस्थिततामा
हराएको मेरो छायाँलाई
लामो सासको अनुभूति
आर्यघाट नै होकि जस्तो लाग्छ

यो देशको वातावरणमा
म रूमलिरहेको जस्तो लाग्छ ।

महालक्ष्मी न.पा-३, इमाडोल