
गहुँगोरो मेरो वर्ण, नीलो भैसकेपछि
डुङडुङ, गन्ध आएपछि
छिः कस्तो गनाएको भन्दै
कृत्रिम बरफको पाठेघरमा
जवानीभरि नगनाएको मेरो पसिना
श्वास सुकेर, नसुकेको मेरो रगत
कहिले ढल्न नदिएको स्वाभिमान
अनि किनेर नसकिएको अनेकौं सपना
मैले अन्तिम पल्ट अँखा बन्द गर्दा
निस्किएका आँसुसँगै निलेको छु
मैले मेरो लागि भनेर कहिले बचाउन नसकेको धनबाट
मेरो बूढो बाबालाई एक जोर सेता चप्पल किनिदिनू
मेरो अन्त्यपछि मात्र, जीवन सुरु गर्ने मेरो छोराको
पास्नी गरिदिनू
हजुरबुबाको चौरासीलाई अलिकति छुट्याएर उब्रियो भने
बैनीको बिहेमा गड्धुवा हालिदिनू
मैले
किन्न नसकेको खुसीहरूमा
तिम्रो ओठको मुस्कान एक नम्बरमा पर्छ
मैले बेच्न नसकेको सम्पति तिम्रो हृदय हो
अब त्यो नितान्त तिम्रो हो, तिमी नउजाडिनू
मेरै लुगा लगाएर, मदिरामा लठ्ठ भएर
मेरो थोत्रो बाइकले टिट पार्दै
मलाई बिर्सिन नसक्ने भन्दै
मेरो अंशमा झगडा गर्दा
मलाई पकाएको पिण्ड रङ उजाडिनेछ
म अरबमा मरेँ भने।
मिक्लाजुङ, मोरङ



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

