१. मोबाइल
सरिता पराजुली
मोबाइलमा ध्यान दिने राम्रो होइन बानी
भन्दाखेरि ठुस्स परिन् हाम्री सानी नानी ।
लुकाएर लान पाए झोलाभित्रै जान्थ्यो
स्कुलको टिफिनमा अहा ! मज्जा आउँथ्यो
भन्दै कहिले हँसाउँछिन् कहिले दिक्क पार्छिन्
कहिले काहीँ सम्झाउँदा आँसु मात्र झार्छिन् ।।
गृहकार्य गर्दा पनि आँखा तानी तानी
हेर्ने कस्तो बानी बस्यो हेर सानी नानी ।
सबैभन्दा प्यारो वस्तु मोबाइल नै भयो
यसको दर्शन गर्दा गर्दा समय नै गयो
साथी सङ्गीसँग खेल्ने दिन ढल्दै गयो
मोबाइलले सबै खुसी खोस्दै खोस्दै लग्यो
मोबाइलमात्र चलाउँछन् च्यानल छानी छानी
एकान्तमै रमाउँछन् साना साना नानी ।
***************************************
[जन्मस्थान पाल्पा भई हाल चन्द्रागिरी नगरपालिका-१५, काठमाडौंमा स्थायी बसोबास गर्दै आएकी सरिता पराजुली (२०१५) रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौँमा प्राध्यापन पेसाको अनुभव बटुलेकी स्रष्टा हुन् । उनको सक्रियता छन्द कविता प्रवर्धन र बालकविताको विस्तारमा रहेको देखिन्छ । कविता, लघुकथा, बालकविता उनका लेखनका मुख्य विधा हुन् । पराजुली पछिल्लो समय बालकविता लेखनमा रुचिपूर्वक समर्पित रहेको पाइन्छ । नेपाली प्रकृति, संस्कृति, कृषिकर्मको सुमधुर चित्रण, बालसुलभ कोमल भावनाको अभिव्यक्ति आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । उनका हातेमालो र झुल्के घाम गरी दुई बालकविताका सङ्ग्रह प्रकाशित छन् । उनको प्रस्तुत ‘मोबाइल’ बालकवितामा वर्तमानमा आधुनिक प्रविधिका रूपमा भित्रिएको मोबाइलले बालबालिकालाई पारेको असरका बारेमा लयात्मक र कलात्मक पाराले वर्णन गरिएको छ । समस्यापूर्तिको शैलीमा लेखिएको प्रस्तुत बालकविता १६ अक्षरे सबाई छन्दमा रचित छ ।]
—————————————————–
२. छायाँ देखी डराएँ
कल्पना अधिकारी भट्टराई
साँझ सात बजे म
आमा भनी कराएँ
बत्ती पनि गएछ
अँध्यारो भो डराएँ
मैन बत्ती लिएर
आमा आउँदा सराएँ
छाया देखेँ भित्तामा
आत्तिएर डराएँ
यताउता फर्केर
ओैलाहरू चलाएँ
जसो जसो गर्छु म
उसै गर्यो डराएँ
किन सानू करा’को
भन्नुभयो आमाले
छाया पछि लागेर
भनेँ मैले डराको
सानो ठूलो बनेको
देखे पछि तर्सिएँ
बुझ्ने गरी आमाले
भन्नुभयो हर्सिएँ ।
*****************************************
[विभिन्न समकालीन तथा अग्रज साहित्यकारहरूका छन्दोबद्ध कविता एवम् बालकविताहरू सुमधुर स्वरमा वाचन गर्दै आएकी कल्पना अधिकारी भट्टराई (२०२६) लमजुङ घर भई हाल टोखा नगरपालिका, काठमाडौँमा रहेर साहित्यसाधनामा लागिपरेकी स्रष्टा हुन् । कवि शैलेन्दुप्रकाश नेपालको ‘वनबेली’ बालकाव्यको विधातात्त्विक अध्ययन शीर्षकमा स्नातकोत्तर तहमा शोधपत्र तयार पारेकी कवयित्री कल्पना बालकविता लेखनमा पनि उत्तिकै रुचि राख्दछिन् । उनका बालकविताहरू विभिन्न अनलाइन तथा छापाका पत्रिका तथा सामाजिक सञ्जालमा प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘ छायाँ देखी डराएँ’ बालकवितामा बालपात्र बनेकी लेखिकाले साँझ परेपछि बत्ती जाँदा अँध्यारो भई आफू तर्सिएको र छाया देख्दा समेत डराएको प्रसङ्गलाई बालमनोवैज्ञानिक ढङ्गले कलात्मक र लयात्मक पाराले अभिव्यक्त गरेकी छन् । कविता २+२+३ अक्षरको संरचनामा बालोरी छन्दमा रचिएको छ ।]
——————————————————————————–
३. मेरो म्याउ
सुनिता निरौला पौडेल
मेरो सानो यौटा म्याउँ
हरायो, खोज्न कता जाऊँ !
बारीतिर’नि खोजिसकेँ
हिँड्दा हिँड्दै थाकिसकेँ
सानो स्वरले गर्यो म्याउँ
पप्पी कुद्यो गर्दै भाउ
सिरक उठाई हेरेँ मैले
उसको देखेँ पुच्छर पैले
झन् पस्यो सिरकभित्र
म नि पसेँ, त्यसै भित्र
छक्काएर भाग्यो फेरि
भेटिहालेँ उसलाई घेरी ।
लुटुपुटु भई, काखमा बस्यो ।
मलाई हेर्दै म्याउँ हाँस्यो ।।
बुबुमाम, बटुकामा दिएँ मैले ।
चाटीचुटी पारी खायो म्याउँले ।।
*********************************************************
[कञ्चनबारी, विराटनगर जन्मस्थान र दमक, झापा घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी कवयित्री सुनिता निरौला पौडेल (२०२७) बाल्यकालदेखि नै लघुकथा लेखनशैलीमा रुचि राख्ने साहित्यिक प्रतिभा हुन् । पहिलो चोटि साहित्यिक कार्यक्रम हुँदा उनी नारी कविता लेखेर उत्कृष्ट भई पुरस्कृत भएकी थिइन् । पाथिभरा एफ एम दमकमा साप्ताहिक कविता लेखनमा “घाम “कविता उत्कृष्ट भएको थियो । आफ्ना पिताजीबाट प्रेरणा पाएको कथा, कविता लेखेर समयलाई सदुपयोग गर्ने कवयित्री सुनिता निरौला पौडेलका बालकविताहरू अनलाइन तथा सामाजिक सञ्जालमा प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘मेरो म्याउ’ बालकवितामा बालपात्र बनेकी लेखिकाले हराएको सानो बिरालो खोज्दा खोज्दा हैरान भएको, पछि फेला परेको र उसलाई माया गरेर खान दिएको सन्दर्भलाई कवितात्मक पाराले अभिव्यक्त गरिएको छ । मानवेतर पात्रलाई माया गर्नुपर्ने नैतिक सन्देश दिइएको यो कविता बालमनोविज्ञानका दृष्टिले सशक्त देखिन्छ ।]
————————————————————————————-
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।