अनन्त सपना
आँखामा सजाएर
मान्छे सुदूर क्षितिज चहार्दै छ
जिन्दगी के हो ?
खुशी के हो?
पाउनु के हो ?
गुमाउनु के हो?
मन भित्र
हजारौं प्रश्न बोकेर
सुख खोज्दै हिँडेको छ
आनन्द खोज्दै हिँडेको छ
कथित जिन्दगीको लय

जिन्दगी जिउने रंगीन सपनाहरू
थाप्लोमा बोकेर
हिँडिरहेको छ
मान्छे र मान्छेहरू
आजकल
मान्छे

मान्छेका सम्बन्धहरू
माटोका भाँडा फुटेझैं
फुटेर टुक्राटुक्रा भएका छन्
जोड्न र मर्मत गर्न
मान्छे र मान्छेहरू
आस्था र विश्वासको मार्गमा
हिँडिरहेका छन्
सुख, शान्ति र ऐश्वर्यको खोजीमा
कहिले
आस्थाका खम्बाहरूमा
त कहिले
धर्मका नाममा
मान्छेबाटै निर्माण गरिएका
धरोहरहरूमा
भगवान् खोजिरहेका छन्
मान्छे भित्रको
“म” रूपी
सत्ताले निर्माण गरेका
मन्दिर, मस्जिद, चैत्य र गुम्बाहरूमा
अनुष्ठान गर्नमा अभ्यस्त देखिन्छन्
आजकल
मान्छे र मान्छेहरू
रह्यो विज्ञान
आधुनिकताको पगरी ओडेर
सम्भावनाको खोजी भन्दै
तमाम
सृष्टिका
सौन्दर्यको विनास गर्दै छ
सफलता हासिल गर्दा होस्
या
असफल हुँदा होस्
मान्छे र मान्छेहरू
मन्दिर, मस्जिद, चर्च र गुम्बाहरू धाएको धायै छन्
विश्वासले मान्छे शान्त हुने भए
आस्थाले मान्छे खुशी हुने भए
ऐ सत्ता
बनाई दे
सगरमाथाभन्दा अग्लो
विश्वासको अर्को
तजमहल वा पिरामिड
आस्थाले शान्ति मिल्ने भए
हे मान्छे भित्रको
सत्तासीन “म प्रवृत्ति”
खडा गर्दे
ब्रह्माण्ड भन्दा विशाल आयतन भएको
अर्को आस्थाको मिल्किवार
अनि
रमाउन दे
सृष्टिका सारा मान्छेलाई
स्वार्थ प्राप्तिको होडमा
आस्थालाई लिलाम गरेर
विश्वासलाई लागो लगाएर
सुख खोज्दै छ मान्छे
स्वार्थले भरिएको खप्पर बोकेर
यो परिवेशमा
दुनियाँ भ्रम बोकेर
मान्छेहरू
आफ्नै लाशको मलामी बनेर
गन्तव्यहीन यात्रामा
तेज रफ्तारमा कुदिरहेका छन्
तन र मनमा
सर्वेसर्वा “म” हुँ भन्ने भ्रामक
आस्था

विश्वास पालेर
घिस्रदै घिस्रदै बाँचिरहेछ ।

 

तनहुँ, नेपाल