केही हप्तापछि फिर्दैछु
कति धेरै परिवर्तन
सुन्दर परिवर्तन
चिलाउनेको बोट
फिक्का हरिया पात लिएर
हावासँग लहडिँदै उभिएका
सालका बोट कैलो सुनौलो पातसँगै
सुन्दर सेता फूल आकाशमा झुलाउँदै
मेरो मन आफ्नै वरिपरि भुलाउँदै
आज फेरि मेरो
स्वागत गरिरहेछ
चिसो बतास
मेरो अनुहार मेरा कपाल
सुम्सुम्याएर जान्छ
अनि
मेरो ओठमा मुस्कान मिलाइदिन्छ
प्यारो प्राचीन बतास
आफ्नै तरिकाले आज फेरि
मेरो स्वागत गरिरहेछ
सिमलका हाँगा हाँगामा
साना साना पातहरू
मलाई चियाउँदै थिए
औसिलाका बोट
घुम्तिमा आई कुर्दैथिए
मानौँ कि
बस् ऊनीहरू
मेरो नै पर्खाइमा थिए
मलाई बोध छ
कुनै मुमुक्षु मलाई पर्खिरहेछ
अनि ऊ आफ्नै तरिकाले
आज फेरि मेरो स्वागत गरिरहेछ
मलाई याद छ
उसको निश्छल चम्किला आँखा
अनि निश्वार्थ मुस्कान
उसको त्यही आँखा अनि
मुस्कान काफी छ
मलाई स्वार्थ त्याग गर्न
काफी छ
मलाई आफ्ना अनुभव बाँड्न
आज फेरि
ती महान् मुस्कान र निश्छल आँखा
आफ्नै तरिकाले
मेरो स्वागत गरिरहेछ ।

 

मध्यनेपाल -८ करापु, लमजुङ