शदियौंदेखि आफूलाई बाँधेर राखेको
जमिनभित्रको त्यो विकराल
जञ्जिर तोडेर हिँड्नेछ
एक दिन यो पहाड
मुहानले बन्द गरिदनेछ
खोलाहरूमा जलप्रवाह
सबै पानी आफूभित्र थुनेर राख्नेछ
सुक्नेछन् पट्पटी
जमिन
खोलाहरू
पानी नहुँदा
ढुंगे बगरमा परिणत हुनेछन्
सुक्नेछ ताल तलाउ झरना
अनि समुद्रहरू
भयंकर खडेरीले
पानी खान नपाएर काकाकुल
प्राणीहरू
प्याकप्याक्ती बनेर
भौतारिनेछन्
पृथ्वीभरि
युगौं युगदेखि
जमिनभित्र आफ्नो अस्तित्व खोजेर
माटोसँग जर्बजस्ती जकडिएर
अड्किएर बसेका
रुखहरू पनि
चित्कार गरेर
जरै बोकेर निस्किनेछन्
आफ्नो नयाँ अस्तित्वको खोजीमा
धर्तिले छाड्नेछिन्
आफूलाई दुखाएर
पीडाहरूलाई
आफ्नो कर्म, धर्म वा
कर्तव्य मानेर सदाजस्तै
आफूभित्रको पोषक तत्त्व चिमोटेर
एक एक गरेर
बिउलाई खुवाउन
अनि त्यो दिन
बन्द गर्नेछ हावाले पनि
प्राणपखेरु भएर बहिरहन
मनुष्य अनि प्राणीहरूमा
निःस्वार्थ प्राण भरिरहन
हो, त्यो दिन
हुनेछ डरलाग्दो शंखनाद
टुसाउनेछ एउटा विद्रोह
अनि
तिम्रो बाध्यता, विवशता
अनि जिम्मेवारीहरूको
पैतालामुनि थिचिएका
कुल्चिएका, पिल्सिएका
मेरा रहर, आकांक्षा
र सपनाका चाङहरूले
बनाउनेछन् तिमीलाई बन्दी
अनि निस्कनेछन्
आ–आफ्ना गन्तव्यमा
विद्रोहको डरलाग्दो कोलाहल गर्दै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।