ऊ सजिला शब्दहरूले गाह्रा कविता लेख्छ
र अन्तिम पटक निदाउँछ
हिउँमा पानी परेको निरर्थक वर्षात् जस्तो होइन
अन्तिम कवितामा उसले उतारेको
सल्लाका रूखहरू र त्यसका चुच्चे छायाँको बिम्ब
अँगेनाबाट उछिट्टिएको फिलुङ्गोजस्तो विद्रोह
केही छड्के कोणहरू
केही वक्र रेखाहरू
ती सिधा हिँडिरहेका जस्ता अक्षरहरू
सरल बोलिरहेका भने थिएनन्
दुइटा बाका नामका कविता
दुई कविता आमाका
जोर कविता नारीका
दुई कविता देशका सीमा वारि र पारिका
दुई तीन कविता प्रेमका, पीडाका, गरिबीका
फुटकर कविता जीवन र मृत्युका
एक दुई कविता जंगल, पहाड र आदिवासीका
यी सबै कविताहरूलाई च्यातेर लेखेको
इत्तरको त्यही एक मात्र कविता थियो बाँकी
उस्को डायरीमा
च्यातेर त्यही पानो पनि
पढेर अन्तिम पल्ट
त्यही टेबुलमा छाडेर हिँडेको ऊ
फेरि कहिल्यै फर्किएको कसैले देखेन
त्यो अन्तिम खेस्रालाई
प्रहरीले कविता हो पनि भन्न सकेन
सुसाइड नोट होइन पनि भन्न सकेन
तर जंगलका कुनै रूखहरूमा पनि उस्को लाश थिएन
भन्न सकिएन
सयौँ अरूहरूले झैं
उस्ले पनि देश छोड्यो कि छाडेन
उस्को नाम
अध्यागमनको कुनै नामसँग भिडेन
आफ्नो पहिचानलाई वस्त्रझैं उतारेर
के उस्ले सर्वाङ्ग नाङ्गिएर देश छोड्यो होला ?
के उसले भोकको हिसाब गर्यो ?
के उसले जनसंख्याको गणना गर्यो ?
के उसले सम्बन्धको गाँठाहरू गन्यो ?
त्यो के अन्तिम विचार थियो
जसले उसलाई कविबाट गुमनाम मान्छे बनायो ?
त्यो के निस्सार सार थियो
जसको झंकारले झकझकाएपछि
निस्कनुअघि
चुच्चे छायाँ भएको सल्लाको जंगलमा उभिएर
हिउँ र पानीसँगै परिरहेको कालो साँझमा
त्यो एउटाबाहेक
उस्ले आफ्ना अरू सारा कविताहरू च्यात्यो र जलायो ?
शंखादेवी, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।