जिन्दगीको सुरबेसुरमा
तालबेतालसँग हिँडिरहेको एक कविले
समात्छ अचानकै भावनाको अदृश्य बीज
कुनै धामीले हावामा सातो पक्रेझैं
र कैद गरेझैँ मुठीमा फू…छु..मन्तर …
उक्त बीजलाई हृदयको मरियाना ट्रेन्चमा लगेर
विचारको घैलाभित्र लुकाइराख्छ
तब गर्भाधान हुन्छ यौटा कविताको

ऊ हिँड्छ जिन्दगीका गल्छिहरू
बुन्दैबुन्दै सुन्दरतम् हरफहरू
उभिन्छ सास फेर्छ निदाउँछ या ऊ जे जे गर्छ
घच्घच्याइरहन्छ कविता भित्रबाट
जसरी लात मार्छ, चल्छ, कोल्टो फेर्छ
आमाको पेटमा विकसित शिशु
र यो प्रशवपीडा चल्न सक्छ
दिन हप्ता महिना अथवा थुप्रै साल

अन्ततः विचारका थुप्रै हाडहरू हल्लिएपछि
भावनाका अग्ला‑अग्ला ज्वारभाटा उर्लिएपछि
एक दिन “च्याँ..” गर्छ कविता
र जन्मिन्छ कविको हत्केलामा
कोरा कागज अथवा कुनै विद्युतीय पानामा
तब कवि हलुङ्गो हुन्छ
जसरी हलुङ्गो हुन्छिन् आमा शिशुको जन्मपछि

जब कविलाई विश्वास हुन्छ
उसको कविता पर्याप्त हुर्किसकेको छ
पठाउँछ बाहिरको माहोलमा
र उद्घोष गर्छ
जाऊ !
तिमी जेका लागि जन्मेका छौ
त्यो सबै भनेर आऊ, सुनाएर आऊ
आफ्नो नाम आफैँ बनाएर आऊ
मेरो इज्जत थोरै बढाएर आऊ
सक्छौ, दुई पैसा कमाएर आऊ

जब कविता जान्छ,आधुनिक बजारमा
सताइन्छ बजारका नानाथरि काण्डहरूद्वारा
पछ्याइन्छ,लखेटिन्छभाइरलहरूबाट
उसको जन्म र अस्तित्वमाथि नै प्रश्न गरिन्छ
के तिमी च्याट्जिपिटिद्वारा लेखिएका हौ ?
के तिमी कुनै मेसिनद्वारा उत्पादित छौ ?
तिमी असली कविता हुँदै हैनौ !
तिम्रा भावनाहरू कति पुराना !
खै तिमीमा चमकधमक र रौनक ?
खै तिमीमा बिक्री हुने कन्टेन्ट ?
धत् कस्तो बिक्न नसक्ने कविता ?

तब अत्तालिएर रुँदै घर फिर्छ कविता
जस्तो कि सातो गएको कुनै बालक
र गर्छ यस्तो एउटा फिराद आफ्नो कविसँग

हे कवि ज्यू !
मलाई आफ्नै डायरीमा कैद राख्नुहोस्
म बाहिर आउनेछु भविष्यको त्यो कुनै दिन
जब मान्छेहरू पुरै मेसिनहरूको अधीन हुनेछन्
जब गुमाइसकेका हुनेछन् मानिसहरुले सम्पूर्ण चेत
जब हराइसकेका हुनेछन् मानवीय संवेदना
हो, दिन म आउनेछु
र लड्नेछु मेसिनहरूका विरुद्ध
यौटा हतियार भएर
र फर्काउनेछु फेरि मान्छेको युग
भावनाको युग, संवेदनाको युग।

खोटाङ,दि.रुम नपा ३
हालः द.कोरिया