अबुझ भन्छ यहाँ प्रकृति रिसायो
विज्ञानको छेउ त्यहाँ बिन्ति बिसायो
विकास भन्दै वन जंगल छिनायो
विनाशको पथमा सबैलाई हिँडायो

वयोवृद्ध वर पिपल आँखा जुधाएर
बटुवा अघि जिज्ञासा पूरा घुमाएर
सनातन रीतिरिवाज साह्रा गुमाएर
गधा पनि गाई बन्ला कहिले नुहाएर

मान्छे मार्नेका झण्डा बोक्न नपरोस्
आफ्नै पुरपुरो पहरामा ठोक्न नपरोस्
त्यो अधर्मी अपराधीलाई रोज्न नपरोस्
दिउँसै न्यायलयमा कानुन खोज्न नपरोस्

बाह्र वर्ष रामायण पढ्यो सीता कसकी जोई
ढुङ्ग्रामा कुकुरको पुच्छर सिधा भएको खोई
भएका छन् आलोपालो आफैँ मत्ता ढोई
खान पाउँदा शिखर चुम्छ नपाउँदामा रोई

शिक्षालाई लतारेर घाइते पार्नु पार्यो
युवालाई लघारेर सात समुद्र तार्यो
बेथिति कुशासनलाई अँगालो मार्यो
दानवता उर्लिरहँदा मानवताले हार्यो

कुकुरको आशीर्वाद सन्तान बढोस् भन्छ
बिरालुको भित्री इच्छा मान्छे मरोस् भन्छ
अल्छीहरू काम जति अर्कैले गरोस् भन्छ
सरकारले भुँडी जति आफ्नैले भरोस् भन्छ

देखिन्छ कहीँ नभएको जात्रा हाँडी गाउँमा
भेटिन्छ जो छद्मभेषी सिंहहरू ठाउँ ठाउँमा
रगत बगेका छन् मेचीमहाकालीका घाउमा
पेट भर्न जुटेका छन् यी संघीयताको नाउँमा
~~~~
गजुरी, धादिङ