रमाउँदैन यो मन चैत वैशाखको वसन्तमा पनि
सोध्न गएँ डाक्टर, वैद्य उपाय केही पाउँछु कि भनी

डाक्टर भन्छन् कोलेस्टेरोल, वैद्य बाथ र पित्त
भन्छन् धार्मिक गुरु पुगेन धर्म, मानेनौ आचरण
कोही भन्छन् पुगेन व्यायाम, भो खाना धेरै
भन्छन् कोही “चिन्ता नगर” हुने होइन केही

एक दिन सोधिन् छोरीले “बाबा छ अफिस रमाइलो?”
देखेकी छिन् दिनदिनै जाँदा ठाँटिएको, फर्कंदा मात्तिएको
ओहो झल्यास्स भएँ, केका लागि यो दैनिकी
सोच्न थालें अहिले मलाई कसरी रमाइलो होला भनी

सानोमा रमाइलो लाग्ने आफ्ना पाखा, वस्तु र आँगन
अहिले बस्नु छ शहरमा, यौटै कोठामा स्लिपिङ र किचेन
ऊबेला चाहिंदा कोही गुहार्यो, दाजु-दिदी र माता-पिता
अहिले आफू छु विदेशमा, कोही कता कोही कता

बदलिँदो देश, बदलिँदो विश्व, बदलिँदो परिस्थिति
बुझ्नु पर्यो “रमाइलो” कहाँ, सम्झेर समयको गति
वर्तमानलाई उत्पादनशील र बनूँ आफैं जीम्मेवार
दोष अरुमा थोपरेर हुन्न, उठानु पर्छ आफ्नो भार ।

ओखती रहेछ, बन्नु सचेत र आफैंप्रति उत्तरदायी
चिन्नु आफैंलाई र निश्वार्थ निर्वाह गर्नु आफ्नो कर्मलाई
अचेल देख्छु कठोर जाडोमा पनि साकुराको चिचिला
साँच्चै हुने रहेछ, बादलमा पनि चाँदीको घेरा ।