त्यो गाउँको घर
रित्तो छ
बिल्कुल रित्तो
ताल्चा लागेको धेरै भो
पोहर दसैँ आयो
तिहार गयो
तर त्यहाँ कोही आएन
अहिले
बर्खामा
छाना चुहिएको छ
टाल्न कोही आएन
बार्दलीमा घाँस पलायो
तर खै
फाल्न कोही आएन
त्यो घर नजिकै भएर
मोटर बाटो गएको छ
आँगनमै पानीको धारा आएको छ
बिजुलीको तारले घर जेलिएको छ
बत्ती आएको छ
तर बाल्ने मान्छे छैनन्
सुनसान छ, बोल्ने मान्छे छैनन्
पहिले त बाटोघाटो
बिजुली पानी भएन भनियो
दुर्गम भो अति
सुविधा छैन केही भनियो
तर अहिले सबै छ
गाउँ संसारसँग जोडिएको छ
र नि मान्छे छैनन्
घर रित्तो छ
अगाडिको जग्गा बाँझै छ
मान्छेहरू
सहर पसे भन्ने सुनियो
रहर पुगेन
अझै केही विदेशका ठूला सहर पसे भन्ने सुनियो
अब फर्कदैनन् कोही
परको चौतारी भुनभुनायो
र नि
त्यो घरका माटो उप्किएका भित्ताहरू
आँखा बिसाएर बसेका छ्न्
बाटो हेर्दै
कुरिरहेछन् उही
ताला खोल्ने मान्छे
खोजिरहेछन् कोही
चुलो बाल्ने मान्छे !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।