जति सम्झाए पनि

जति बुझाए पनि

लामो समय टिक्दै टिक्दैन

सम्झाई बुझाई त यहाँ

पटक्कै बिक्दैन

मसँग नै मान्दैन मेरो यो

उडिसकेको मन

 

केही पल सम्हालिए जस्तो

केही पल अल्मलिए जस्तो

खै किन हुन्छ मलाई यस्तो

भत्भत पोल्छ यो मान्छेभूमिमा

मरुभूमिमा वरु शितलता होला

मान्छेहरू सुख्खा छन्

मान्छे भित्रका मान्छेहरू झन रुख्खा छन्

पोल्छ तिनीहरूकै सामीप्य

मनले निकटता स्वीकार्नै छाडिसक्यो

जहाँ मन बस्दैन

त्यहाँ जन बस्दैन

उड्नै मात्र खोज्छ

उडिसकेको मेरो मन

 

अब कसैले पनि रोक्ने प्रयास नगर्नु

मान्छेजस्तै व्यवहार गर्नेहरूको

खोजीमा छु म

यहाँ

कोही जलिरहेछन्

कोही हर दिनरात नशाले ढलिरहेछन्

उनीहरूमा प्रतिशोध छ मप्रति

म प्रतिको डाहाले आफैँलाई दुःख दिइरहेछन्

कठै, विचराहरूको विचार

आफैँलाई दुःख दिएर मन शान्त पार्न खोज्नेसँग

मेरो मन संवाद गर्नै चाहन्न हिजोआज

दुःख लाग्छ त्यो दरिद्रता देखेर

बस्नै मान्दैन अब यहाँ

जस्ले जति ताने पनि

उडिसकेको मेरो मन

 

यो मनले अरुको खुशीमा खुशी हुन जानेको छ

हाँसोमा हाँसो मिसाउन जानेको छ

तर

खुशीमा विष घोल्न

र हाँसोमा पासो लगाउन

कहिल्यै जानेन

यहाँ त सबै जसोसँग विष हुने रहेछ

मेरा खुशीहरूविरुद्ध आवेग र रिस हुने रहेछ

ती विवेकहीन आवेग र रिससँग कति लड्नु भन्छ

उडिसकेको मेरो मन

 

मलाई छाडेर जान्छ

एक्लै बनाउँछ

खै कहाँ कहाँ पुग्छ

अनि फेरि

मलाई डोर्याउन आउँछ

यो दुर्गन्धमा कति बस्छस् भन्छ

हिँड म लिएर जान्छु

त्यो क्षितिज पारि

जहाँ मान्छेहरू मान्छे जस्तै छन्

सफा छन्

निश्चल छन् निष्कलंक छन्

जहाँ एकले अर्कोलाई बन्नमा सहयोग गर्छ

हार्दिकता र सद्भावले मनहरू जोडिन्छन्

जहाँ स्वर्गको झल्को मेटिन्छ

त्यहीँ वास्तवमा जिन्दगी भेटिन्छ

त्यसैले यो मन

उडिरहेछ

रोकिने छैन, यसको गति

अवश्य भेट्नेछ

एउटा सुन्दर गन्तव्य

यो मन यहाँ बस्नुमा भन्दा

उड्नुमा सयौं गुणा बढी खुशी छ ।

 

 

सुनकोशी ६, सिन्धुली

हालः पोखरा