ममताको छहारीमा बसेर
जोगाउन खोजेँ
हरबखत
छहारी दिने
ती रुखहरु ।
जल र मल
अनि
पसिना र रगत खन्याएर ।
पसिना र रगतले
मात्र पनि
सक्दो रहेनछ
एक्लै
र त्यसैले त
खोज्दा रहेछन्
साथ
उनीहरू पनि ।
कुडिन्थ्यो मन
कहिले
जलको अभावमा
कहिले मल नपाउँदा ,
तर कमि रहेन
सहृदयी मनहरुको ,
साधुवाद सहृदयी मनहरुलाई ।
सारा
संसार छोडेर
सधैँ उनीहरुकै
छहारीमा बस्न खोज्दा,
जल र मलले
सिंचाइ गरिरहँदा
रगत पसिना
खन्याईरहँदा
थाहा पाउन
सक्दैनथें
कताबाट आउँथ्यो
अलच्छिनी बतास
हल्लाउदै जान्थ्यो ,
झस्काउँदै जान्थ्यो
थर्काउदै जान्थ्यो
पटक पटक ।
अँगालेर बसेँ
रुखहरु
समाई रहेँ हाँगाहरु
तर झुक्याएरै
लडायो
पिराहा बतासले
ममताको,
स्नेहको
र सुरक्षाको
शितल छहारी दिने
मेरा ती विशाल रुखहरु ।
पोखरा ७ मासबार,
कास्की
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला