भन्छन् मानिसहरु —
छुनुहुँदैन गधालाई जात धर्म जान्छ
तर, कल्मष छैन उसमा
निरन्तर गरिरहन्छ परिश्रम

आदी भैसके मानिसहरू
भन्छन् — उसलाई निच जात
इमान्दार गधा आयास गरिरहन्छ बेस्सरी
भारी बोकी–बोकी चर्दै छ सुस्तरी
न लाग्छ लोभ उसलाई
न लाग्छ घिन उसलाई
अबोध छ भेदभाव छुट्याउनलाई
तर, मानवले जिस्क्याहट गरी–गरी
आक्षेपण गरे आदिवासी उसलाई

अब त परिवादक बन्यो साहु
साहु भन्छ — मेरो स्थानमा आउँछु भन्छस् होला
दलिल गराउँदै छन् अन्य मानिसहरू
अरू गधाहरू पनि कराउँदैछन्
किन फालिस् जात ।

भन्छ गधा —
परिश्रम गर्ने बानी छुटेको छैन
इमानदार र विश्वासिलो छु अहिलेसम्म
कसरी भएँ म तल्लो जात ?
नर नै हो रे उँचो जात ?
इमानदार नहुने तिम्रो व्यवहार
निरन्तर मेहनत गर्नेहरूलाई
गर्दछन् मानवले निच व्यवहार
मानव–मानव बीच बाझाबाझ
आफ्नै जातिबीच नकारात्मक टकराव
कसरी भयो तिमी उच्च जाति ?
कसरी भयौ तिमी मानव जाति ?
कसरी भएँ म निच जाति

मानव जातिमा मात्र छ भेदभाव
मेहनती र मिलनसार कार्य गरिरहनुपर्छ
यही हो धर्म रे, अरू केही चाहिँदैन
त्यसैले, गिज्याउँदै भन्न थाल्यो गधाले —
मानवले छाडिसके आफ्नै धर्मकर्म
खिसी गर्दैछ गधा — मानिसलाई हेरी–हेरी
निच जाति, उच्च आदिवासी भनी–भनी
छुट्याउन सकिएन है
भन्यो कि मानिसलाई निच जात
भन्यो कि आफैंलाई
तर, खिलखिलाउँदैछ गधा —
निच जात, आदिवासी भनी

गर्वसाथ भनिरहेछ गधाले —
हामी पनि हौं पृथ्वी आदिवासी
मानिसले पनि मृत्युवरण गर्नै पर्छ
त्यसैले तिमी पनि पृथ्वी वासी
धर्म कर्म बिर्सिसक्यो मानवले अबचाहिँ
त्यसैले सुस्तरी हुँदैछन् निच जाति
मानव म पनि पृथ्वीको एक वासी ।
मानव म पनि पृथ्वीको आदिवासी ।