
चोटको व्यथा कस्तो हुन्छ
सिक्नु छ बाबा
मलाई चोट दिनुस्
पीडाको कथा कस्तो हुन्छ
सिक्नु छ बाबा
मलाई पीडा दिनुस्
मैले जे माग्छु
त्यही दिनुभयो भने
म जान्दिन बाबा
अभाव के हो
मैले जे भन्छु
त्यही मानिदिनु भयो भने
म जान्दिन बाबा
दुःख के हो
म कतै जाँदा
कारमा सवार भएँ भने
अनुभूत गर्न पाउँदिन बाबा
गन्तव्यमा पुग्न घण्टौँ उकाली चढ्नेका व्यथा
पढ्न जाँदा
सुविधासम्पन्न बोर्डिङ स्कुलमा भर्ना भएँ भने
जान्न पाउँदिन बाबा
चुहिने छानोमुनि रुझ्दै
घण्टौँदेखि शिक्षक पर्खिरहेका विद्यार्थीको कथा
अस्पतालमा जाँदा
मैले सिधै चिकित्सकलाई भेट्न पाएँ भने
महसुस गर्न पाउँदिन बाबा
चिकित्सकलाई भेट्न
घण्टौँ लाइनमा उभिने बिरामीका कथा
फलफूलको डोको बोकेर दिनभरि
सडक छेउमा ग्राहक पर्खिरहेकी
बेलुका घर फर्किदा
न पैसा फर्किन्छ
न फलफूल फर्किन्छ
कहिले ग्राहक नपाउनुको सास्ती
कहिले प्रशासनको लौरोको सास्ती
चिसो चुल्हो अगाडि आँसु झारिरहेकी
दिनभरिको कथा कहिरहेकी
मैले सुन्नु छ बाबा
आमाहरूका जीवन्त कथा
इच्छा होइन बाबा
अत्तर छर्किएको सुकिलो सुट लगाई
गोबर फाल्नेको नजिक नजाऊँ
रहर छैन बाबा
भुईँको अवस्था नभोगी
भुईँमान्छेका निम्ति नीति बनाऊँ
मैले भोग्नु छ
अभावमा बाँच्नेको जीवन कस्तो हुन्छ
विभेदमा बाँच्नेको जीवन कस्तो हुन्छ
अन्यायमा बाँच्नेको जीवन कस्तो हुन्छ
हो मलाई
अभाव सिकाउनुस् बाबा
विभेद सिकाउनुस् बाबा
अन्याय सिकाउनुस् बाबा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

