बदनाम शहरको बदनाम पात्र हौ तिमी
छोरी घरको मान, सम्मान, इज्जत हौ तिमी
झूठा मुहारमा मिठा मुस्कान ल्याउन सफल
हेर आज त्यही शहरमा कति बदनाम छौ तिमी

कहाँ भेटिन्छेऊ उजेलीमा
तिमी त अधेरीसँग अनिष्ट प्रेममा फसेकी छौ
ती मुस्कान भित्र लुकेका कयौँ वेदना छन्
तिमी आफ्ना पिताका निम्ति कति कुरा छोप्दै छौ

कस्तो खेल खेल्छ है प्रेम हावाझैँ
स्वतन्त्र छोड्यो त बिलाउने;
मालीझैँ दिनरात खटिरहँदा नि ओइली जाने
घाउमा झैँ रेखदेख गर्दा नि दाग दिई जाने
कस्तो रहेछ प्रेम सुरुमा जन्नत देखाई बीचमा अलपत्र छोडिदिने
छोरी तिमी बदनाम शहरको बदनाम पात्र हौ

म उसको नजरमा गलत त तिम्रो नजरमा सही
तिमी मेरो नजरमा गलत त उसको नजरमा सही
हेर यहाँ हरेकको नजरमा हिरा कहिल्यै चम्किदैन
कोही देख्न सक्दैनन् त कोही चिन्न !

कोही तिम्रो हात थामी यो दुनिया घुम्नेछ
त कोही यही दुनियादेखि तिमीलाई मेटाउनेछ
याद राख्नु साधारण देखिने घाउले पनि
ठूलै जखम दिन सक्छ
अहिले तिम्रो साथ दिनेले भोलि तिम्रै मुटुमा छुरा घोप्न सक्छ

अब थोरै कठोरता अपनाउनु तिमी
यहाँ आफ्ना नै बिच्छी हुन्छन् बाटो नियाली पाइला सार्नु तिमी
बदनाम शहरको बदनाम पात्र हौ
छोरी तिमी आफ्नो खुसीको आँफै हत्यारा हौ

तर साँच्ची, तिम्रा बा कति साहसी रैछन् है!
न रुन सक्छन् न आफ्ना परदेशी गाथा सुनाउन
अझै भन्छन् छोरी, ‘तिम्रो जीवन नै मेरो हिम्मत थियो ‘
कहाँ सक्दा रैछन् र उनी नियतिमा लेखिएको मेटाउन

मुनामै ओइलिएको फूलझैँ झरी सकिन् तिम्री
आमा जसको प्रेम पाउन त्यो न्यानो काख छोड्यौ
त्यही काख लछार्दै तिम्रो बदनामीले जलिसकिन् तिम्री आमा

सायद बुझ्न सक्थ्यौ तिमी अधेरीमा मात्रै
चम्किने तारा हो सम्बन्ध न भुल्न सकिन्छ न त रोक्न नै
शब्दकोश भित्रको शब्द हो जीवन
न खोज्न सकिन्छ न त बुझ्न नै

जरुर तिमी उसको रोगी थियौ
उसले दिएका हरेक आँसु अमूल्य तर अनमोलमा लियो
जरूर तिमी पागल थियौ
वचनमा मिठास घोलेर बोल्नेहरूसँग भुलियौ
छोरी तिमी बदनाम शहरको बदनाम पात्र हौ

तोडिएको विश्वासले च्यातिएको मन
सियो चलाउन नजान्नेले नि सिउनु पर्दोरहेछ
जीवनमा जस्तो सुकै कष्ट किन नआवोस्
आफ्ना लिगी होइन आफ्ना बाआमाका लागि
हरेक युद्ध लड्नु पर्दो रहेछ

आफ्नो जीवन कसलाई पो प्यारो लाग्छ र यहाँ
बस मौनताको सिँढीसँगै जिउँदो लाश बनी सजिनु पर्दोरहेछ
यहाँ आफ्ना लागि होइन
आफ्ना बाआमाका लागि हरेक युद्ध लड्नुपर्दो रहेछ

बदनाम शहरको बदनाम पात्र हौ तिमी
छोरी घरको मान, सम्मान, इज्जत हौ तिमी
झूटा मुहारमा मीठा मुस्कान ल्याउन सफल
हेर आज त्यही शहरमा कति बदनाम छौ तिमी
बदनाम शहरको बदनाम पात्र ।