तिमी केवल एउटा मान्छे हौ
समग्रमा एउटा मान्छे भएर बाँच !
न तिमी हुतु हौ, न तिमी तुत्सी
न तिमी शिया हौ, न तिमी सुन्नी
न तिमी कुकि हौ न तिमी मेइतेई
तिमी केवल एउटा मान्छे हौ
समग्रमा एउटा मानव भएर सोच !
रुवान्डालीलाई दुख्दा
तिमीलाई दुख्नुपर्छ
सोमालियाली रुँदा तिमी रुनुपर्छ
चाहे टर्की भन चाहे हाइटी
हिरोसिमा भन् वा नागासाकी
काबुल दुखोस् या काश्मीर
सिरियालीलाई दुख्दा तिमीलाई दुख्नुपर्छ
मान्छेका आर्तनादहरू
मान्छेका पीडाहरू
तिमीले महसुस गर्नुपर्छ
तिमिलाई आभास हुनुपर्छ
तिमीले सहलाउन सक्नुपर्छ
तिमी केवल एउटा मान्छे हौ
समग्रमा एउटा मानव भएर सोच्नुपर्छ !
मन्दिर भत्काएर मस्जिद बनाउन नखोज
मस्जिद भत्काएर मन्दिर बनाउने नसोच
चर्च भत्काउँदा गुम्बा दुख्छ
मस्जिद भत्काउँदा मन्दिर रुन्छ
छैन मन्दिरको मस्जिदसँग वैमनस्यता
छैन मस्जिदको मन्दिरसँग अनास्था
चाहे चर्च भन् चाहे गुम्बा
ती समान छन् एक आपसमा
मान्छे तिमी आफैँभित्र छ असमानता
तिम्रो सोच विभाजित छ
तिम्रो मानसिकता कलुषित छ
तिम्रै भावना सङ्कीर्ण छ
हे ! मान्छे थन्क्याएर राख
तिम्रा अहम् र आडम्बरका मिसाइलहरू
भत्काऊ, वैमनस्यता र विभेदका पर्खालहरू
हटाऊ, साम्प्रदायिक भावना र विचारहरू
तिमी केवल एउटा मान्छे हौ
समग्रमा एउटा मान्छे भएर बाँच
केवल मानव भएर सोच !
°°°
हेटौँडा-४
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।