क्षितिजमाथि उड्न खोजेका
एक हुल सपनाहरू
बादलले बाटो छेकेपछि
कुहिरोभित्रै हराएर गए
पहराको काप कापमा रमाउने आँट
ठुला ठुला रुखहरू चहार्ने साहस
देशलाई खेलौना सम्झेर
अबोलाहरूलाई मोलतोल गर्दै
उनीहरूकै पसिनामा
दाइँ हाल्नेहरूसँग डराएर
लुक्ने ठाउँ खोजिरहेछ
निर्दोष मन

आफ्नै आँगनमा
बेथितिको खेल मैदान देखेर
खुसीको ढाकरलाई अडेस लगाउने
विश्वासको टेकुवा नभेटेपछि
शैक्षिक प्रमाण पत्र हैन
पासपोर्ट हात पार्न हतार छ यहाँ

मुटुलाई गाँठो पारेर
आँशुलाई लुकाएर
आशाका कुवा खन्न निस्केकाहरू
एक हातमा पासपोर्ट र बोर्डिङ पास च्यापी
खुसी लिएर फर्कने वाचा गर्दै
अर्को हातले बिदा मागेर
जिस्काइरहेका छन्

मुलुकको भाग्य कोर्ने हातहरू
खाडीको तातोसँग पौठेजोरी खेल्दै
एक छाक मिठो खाने
एक आङ राम्रो लगाउने
सपनाका उडान भरिरहेका छन्

शिक्षामा सीप मिसाएर
सीपको फूलबारी निर्माण गरी
सुन्दर फूलबारीको सुवास
चारैतिर छर्न सकिने भूमिलाई
युरोप, अस्ट्रेलिया, अमेरिका, क्यानडा
खाडी मुलुक पठाउने
कुशल श्रमिक उत्पादन गर्ने
भरपर्दो कारखाना बानाइयो यो देश

होश नखुलेको चर्तिकलादेखि
बाँझो उर्वर पाखाहरूले गिज्जाउँदा
आफैँसँग लाज मानेर
भोलिको नेपालको परिकल्पना गर्न डर लागिरहेछ ।

 

तामाकोशी गा.पा वडा नं ७ हाँबा

दोलखा