बा राम्रो घर बनाऔं न
विदेशी स्टाइलको
दरो इन्जिनियरिङ गरेर
स्वदेशी शैलीको
स्वदेशी सामग्रीबाट
के छैन र घर बनाउन
हाम्रो ठाउँमा/हाम्रो देशमा
फलामेडाँडाबाट फलाम निकालौं
सिमन्टीडाँडाबाट सिमेन्ट निकालौं
तामाडाँडाबाट तामा निकालौं
कोसी-कर्णालीको बगरबाट ढुङ्‌गा बटुलौं
नारायणी नदीबाट पानी ल्याऔं
विदेश जान पासपोर्ट बनाउन लाइन लागेकालाई
घर बनाउने कामको लाइनमा लगाऔँ
एयरपोर्टबाट युवा फर्काएर घर बनाउने
काममा लगाऔँ…
काठ बोक्न काँधहरू थपौं…
विदेशमा कमाएर जमाएर बसेका
दाजुभाइलाई पैसाको बिटो लिएर आओ भनौं
नआए पैसा पठाओ भनौं
आधुनिक अरनिको माथ्लो पहाडमा
काम नपाएर सन्तान खेती गरिरहेछन्
उनलाई उनको सीपको काम दिऔं…
बा एउटा सुन्दर घर बनाऔं न…

उत्तरको छिमेकीको अग्लो घरले
छेकेको घाम र नाम नछेकिने गरी
घर बनाऔं न बा…
पूर्व पश्चिम र दक्षिणका छिमेकीको
मेख मार्ने गरी घर बनाऔं न बा…
तिनले हाम्रो घरमा अनिकाल लाग्न
आँटेको थाहा पाएपछि
चामल किन्न दिँदैनन्
दाल
प्याज
ग्याँस
तेल केही किन्न दिंदैनन्
ठुलो दोकान तिनकै छ…
हाम्रो पानी र जवानीमा आँखा गाड्छन्
गिद्दे नजर लाउँछन् र
साधुको भेषमा हाम्रो छाप्रोमा
पसेर कठैबरा भन्दै
गाला, ढाड सुम्सुम्याउँदै दुर्व्यवहार गरेर
तृप्त भएर जान्छ छिमेकी
बा हामी पनि राम्रो पक्का घर बनाऔं न…
ती व्यभिचारी छिमेकी छिर्नै नसक्ने
कम्पाउन्डवाला, घेराबेरासहितको…
सुन्दर घर बनाऔं न बा…

हजुरहरू/हाम्रा काका-बाहरू नमिलेको देखेर
“छिमेकी जुँगामा ताउ लाइरहेछ
हाम्रो घरजग्गा हडप्न दाउ लाइरहेछ
हामीलाई शरणार्थी बनाउन आफू खुसी
हाम्रो घरको सस्तो भाउ लाइरहेछ ।”
बा हामी पनि एउटा जापनिज घर बनाऔं न…

भावनामा बगेर
रङ बदलेर पनि घर बन्दैन बा
भित्रभित्रै आधा बोलेर
बोल्दै नबोलेर र
थोरै बोलेर पनि घर बन्दैन बा
काकाहरूलाई मुक्का र
छिमेकीलाई टुक्का हानेर पनि घर बन्दैन बा
सनकले अरुको खुट्टा तानेर
अरुलाई छिर्किनी हानेर पनि घर बन्दैन बा…
विदेशीले बहादुर भनिदिएकै भरमा
आफूलाई बहादुर ठान्दै र
तिनको कूट बोलीलाई सत्य मान्दै
ज्यान आहुति दिन तम्सिन्छौं हामी…
सबै आर्मी दाइ पुलिस भाइ कर्मचारी काका नेता मामा
सबैसबैलाई… गुहारौं न बा
बा हामी पनि आफ्नै घर बनाऔं न…
आमालाई सुन पछि जोडौंला
जसरी जोडे पनि
घर बनाउने पैसा स्वीस बैंकमा पनि नराखौं न बा…
अर्कैले खाइदिन्छ सित्तैमा…
हजुरको आयु कति छ र ?
घर बनाए म ढुक्कले छोराछोरी घरमै पाल्थें…
न्वारन छेवर ब्रतबन्ध विवाह…
घरमै गर्थें
चाडबाड मान्थेँ
छोराछोरीलाई संस्कार सिकाउँथें
रीतिरिवाज पढाउँथें
अन्न-सब्जी उब्जाउँथें
बा एउटा बलियो आफ्नै घर बनाऔं न ल…
कोरियन प्रविधिको…
घरबारी नै नभए कहाँ बस्ने ?
के खाने ? के गर्ने… ?
त्यसैले
बा घर बनाऔं न…
पक्का घर
आफ्नै घर
छिमेकीको भन्दा ठुलो र सुन्दर घर…

गोपाल काफ्ले
सिन्धुली