
१. पानी परेको दिन
मिर्मिसा पराजुली
आज पनि पानी पर्यो स्कुल हिँड्ने बेलामा
बाबा आमा जानुभयो कोदो गोड्न मेलामा
म र दिदी खाना खाई सँगसँगै जाने हो
दिदीको त छाता छ मैले रेनकोट लाने हो
बाटो पनि चिप्लो रै’छ हिँड्नुपर्छ हेरेर
स्कुल पनि देखिएन कुहिराले घेरेर
साना साना खोला तरी जानुपर्छ स्कुल
समयमै पुग्नुपर्छ बाटोतिर नभुल
हिँड्दा हिँड्दै बाटोमा साथी भेटेँ टुप्लुक्क
साथीको त छातै छैन भिजेछ्न् नि निथ्रुक्क
दिदीसँग भनेर छाता ओढ्न लगाएँ
खुट्टा गड्यो पानीमा झन्डै चप्पल बगाएँ
पानी पर्दा जुत्ता भिज्छ लगाऊँ साथी चप्पल
आफ्नो सामान जोगाउने बानी गर असल
**********************************************
[कवयित्री मिर्मिसा पराजुली पोखरा महानगरपालिका, १२ मा स्थायी ठेगाना भई हाल श्री मेश्रम वराह मा.बि घान्द्रुक,कास्कीमा शिक्षण पेशामा आबद्ध छिन् । गीतकार प्रतिष्ठान, नेपालमा उनको संलग्नता रहेको छ । कवयित्री पराजुलीले साहित्यका मुक्तक, कविता, गजल लगायतका विधामा कलम चलाएकी छन् । उनको मुकुल नामक मुक्तक सङ्ग्रह बजारमा आइसकेको छ भने कान्तिपुर कोपिला तथा फेसबुक लगायतका सामाजिक सञ्जालमा बालकविताहरू पनि प्रकाशित भइसकेका छन् । प्रस्तुत ‘पानी परेको दिन’ बालकवितामा कवयित्री पराजुलीले स्कुल जान लागेको बालपात्रले पानी परेपछि विकट बाटोमा हिँड्न अप्ठ्यारो भएको र दिदीलाई साथी पाएर स्कुल पुग्न सजिलो भएको प्रसङ्ग कोट्याएकी छन् । कविताले आफ्ना सामानहरू जतन गर्नुपर्ने सल्लाह पनि दिएको छ । २+२+३, २+२+३ अक्षर संरचना रहेको प्रस्तुत बालकवितामा बालोरी लोकछन्दको प्रयोग गरिएको छ ।]
———————————————————————————————–
२. बजार
लक्ष्मी रेग्मी खनाल
कति रमाइलो लाग्छ मलाई बजार जान ॥
बजारमा गएर लाग्छ मीठो मीठो खान ॥
पुतली ल्याई किनेर घरमा आई खेल्छु ।
स्कुल छुट्टी हुँदा पुतलीसँगै भुली रहन्छु ॥
बजारमा गई क्यारी ! नयाँ पुस्तक किन्छु ।
पहिला आफू पढ्छु अनि साथीलाई दिन्छु ॥
चित्र कोर्न मन पर्छ रङ भरी राख्छु ।
कस्तो लाग्यो भनी सबलाई सोध्छु ॥
बजार डुल्दामा त काट्नु पर्छ बाटो पनि ।
आमाको हात समाई हिँड्ने गर्छु म नि ॥
देखेजति सबै किन्ने हैन थाहा छ मलाई ।
जङ्क फुड खायो भने हुन्न हाम्रो भलाइ ॥
*******************************************
[पुतलीबजार – १३ स्याङ्जामा जन्मस्थान र वालिङ्, स्याङ्जामा स्थायी ठेगाना भई हाल कीर्तिपुर, काठमाडौंमा बसोबास गर्दै आएकी लक्ष्मी रेग्मी ” चक्षु ” आफूलाई साहित्यको असल पाठक भन्न रुचाउँछिन् । उनको मन पर्ने साहित्यिक विधा बालसाहित्य हो र बालसाहित्यका कविता लगायतका विविध विधामा उनले कलम चलाएकी छन् भने कविता, लघुकथा, मुक्तक लगायतका प्रौढ साहित्यका अन्य विधामा पनि उनी लेख्दै आइरहेकी छन् । विभिन्न अनलाइन पत्रपत्रिकाका साथै छापा माध्यममा उनका रचनाहरू प्रकशित भएका छन् । प्रस्तुत बजार शीर्षकको उनको बालकवितामा बालपात्र बनेकी लेखिकाले बजार जान पाउँदा रमाइलो लाग्ने प्रसङ्ग अघि सार्दै बजार गएर मीठो मीठो खान पाइने अनि पुतली किनेर ल्याई खेल्न पाइने अनुभूति पस्किएकी छिन् । अझ बजार गएर पुस्तक किन्ने अनि त्यसैमा भुल्ने र रमाउने सिर्जनात्मक सोच पनि कवयित्रीमा देखिन्छ । नैतिक सन्देशको समेत प्रस्तुति रहेको प्रस्तुत बालकवितामा बालमनोविज्ञानको सफल प्रयोग भएको देख्न सकिन्छ ।]
———————————————————————–
३. मामाघर जाने हो
तेजप्रसाद खनाल
तीजमा नयाँ नाना लगाई मामाघर जाने हो
तीजको दर मामाघरमा बसी खाने हो
क्या राम्रो लाग्छ डमडम मादलुको ताल
रमाइलो गर्नुछ मामाघरमा यो साल
आमाले भन्नु भा’छ लिएर जान्छु
तिमीसँगै मैले पनि दर खान्छु
आमाको कुराले मन खुसी भा’छ
यसपालि खुबै रमाइलो मलाई ला’छ
मेरो नाच हेर्ने रहर हजुरबालाई पनि
मेरा दिन बितिरा’छन् तीजको दिन गनी
आमाले भन्नुभाछ फरिया किनिदिन्छु
म पनि यसपालि फरियामै नाचिदिन्छु ।
*********************************************************
[लमही नगरपालिका-५ देउखुरी दाङ घर भई साहित्यसाधनामा तल्लीन तेजप्रसाद खनाल (२०४१) प्राध्यापन पेशामा संलग्न छन् । विद्यालय तथा क्याम्पस तहमा अध्ययन गर्दादेखि नै साहित्यमा रुचि राख्ने खनाल साहित्यका लघु कथा, कविता, चारु , राग , विराग, रागविराग, मुक्तक, गजल, हाइकू, झर, पञ्चाङ्ग, बाल कविता, टुक्का जस्ता विधामा कलम चलाउन रुचाउँछन् । चारु साहित्य प्रतिष्ठान लुम्बिनीमा प्रदेश अध्यक्षका रूपमा उनको संलग्नता रहेको छ । उनको ‘जुनेली रात’ चारु सङ्ग्रह प्रकाशित भइसकेको छ । उनका ‘अनमोल रत्न’ मुक्तक सङ्ग्रह र’नवरत्न’ चारु सङ्ग्रह संयुक्त लेखन पनि प्रकाशन भएका छन्भने संयुक्त लेखनमा आधारित बालकविता सङ्ग्रह प्रकाशनको तयारीमा छ । विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा उनका फुटकर बालकविताहरू प्रकाशित हुँदै आएका छन्। उनको प्रस्तुत मामाघर जाने हो बालकवितामा नेपाली नारीहरूको महान् पर्व तीजको प्रसङ्गलाई समेत अघि सारिएको छ । तीजमा आमासँग मामाघर जान, त्यहाँ गएर हजुरबासँग भेटघाट गर्न अनि दर खान पाउँदा हुने रमाइलोको अनुभूतिलाई समेटिएको यस बालकवितामा कवि बालिका पात्र बनेर प्रस्तुत भएका छन् ।]
————————————————————————————-
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

