सद्भावना

छविलाल आचार्य
छन्द:दिक्पाल
गण:त र म ज गुरु गुरु
विश्राम:सात अक्षरमा

सत्ता र शक्ति हाम्रो दुष्कर्ममा नजाओस्
दायित्व बोध गर्दै सत्मार्ग खोजि आओस्
छन् ती गरीब माग्ने कैल्यै नहुन् अँध्यारो
छिट्टै निकास पाऊन् सद्भावना छ मेरो ।

हो सार्वभौम सत्ता रक्षार्थमा खटाऔँ
माटो छ प्राण हाम्रो यै मट्टिमै रमाऔँ
तोडेर द्वैष हाम्रो लौ प्रेम जोडिदेऊ
मार्ने र मर्नु पर्ने भो युद्ध तोडिदेऊ ।

नारी र बाल वृद्ध उन्मुक्त हिँड्न पाऊन्
चौतर्फ घात गर्ने छन् त्रास लौ हटाऊन्
छन् अन्धभक्त कोही खोलेर नेत्र आऊन्
मात्रै पछाडि पर्ने बानी सबै हाटाऊन् ।

घोल्दै बिचार राम्रा निष्कर्ष बाँडिदेऊ
चेष्टा छ राष्ट्रघाती छन् स्वार्थ छाडिदेऊ
छन् क्यै विवाद हाम्रा सल्ट्याउ साथ देऊ
चाल्छन् कुचाल कोही गर्जेर लात देऊ ।

हाँस्ने हिमाल जस्तै हाँसेर बाँच्न पाऊन्
भेटिन्छ प्रीत नौलो गाँसेर नाच्न पाऊन्
प्यासी बन्यो भने क्वै काली बगेर आओस्
दासी बन्यो भने क्वै सङ्घर्ष गर्न पाओस् ।

ज्ञानी बनेर मान्छे सङ्कीर्णता हटाओस्
नामी बनेर मान्छे यै धर्तीमा अटाओस्
दामी बनेर मान्छे सद्भाव बाँड्न पाओस्
हामी भनेर मान्छे सेखी भए घटाओस् ।

कास्की

 

 

नसुनेको पुकार कालीपारिको

चरित्रा शाह

छन्दःशार्दूलविक्रीडित गणः म स ज स त त गुरु

विश्रामः छ र बाह्र अक्षरमा

नेता जन्म लिओस् पुकार दुःखको सम्झेर आओस् यहाँ
सत्ता कान खुलोस् सुनोस् सब कथा लौ ध्यान लागोस् यहाँ
हाम्रो स्वर पुगोस् पुकार नलुकोस् बोल्दैछु झङ्कारमा
जाओस् हार गुहार यो विरहको त्यो सिंहदर्वारमा ।

पैले सोमतमा दियौ पर ग¥यौ बिस्र्याै चटक्कै भुल्यौ
कस्ता निष्ठुरता भ¥यौ हृदयमा केमा कसोरी झुल्यौ
बस्दै त्यो पथमा हरे टुलुटुली आएर लान्छौ भनी
आशै आश गरेर यौवन बित्यो आएन फर्केर नि ।

नाबीको दुःखको अजस्र छहरो देखेर दुख्दै बसेँ
चुच्चोको चुचुरो भएर नि सदा हारेर हेर्दै बसेँ
कस्तो साथ दिऊँ म आज बहिनी नाबी र गुन्जी भन
घैँटो बल्ल खुल्यो म भन्दछु कथा संसार सारा सुन ।

सत्ता शक्ति मिल्यो सबै पुगिगयो को सक्छ आफ्नो हुन
जस्ता रूपहरू परून् शरणमा जान्दैन मान्छे रुन
पाई शक्ति बसेर मानव यहाँ भुल्दैछ मान्छे हुन
औँसी रात चिरी समग्र भवको छर्दैन आभा किन .

यस्तै सोच भएर चुप्प बसियो क्यै वर्ष यस्तै बितेँ
देखी स्वप्न मिठो जुरुक्क उठियो आशा जगाई जितेँ
द्यौता रूप लिँदैछ एक सुतले यो स्वप्न देख्दैछु म
प्यूँदै आँसु घुटुक्क घुट्ट नुनिलो सन्देश लेख्दैछु म ।

नेपालगञ्ज

 

मन र वन

आश्रय देवकोटा

छन्द – तोटक
गण:स स स स
विश्राम: तीन र छ अक्षर

म त बस्दछु आज नदी तटमा
म त मस्त छु है म उडे नभमा
वनमा मन हेर गयो अहिले
मन चङ्ग फुरुङ्ग फुकी अहिले ।

जलका भलले मनको डर र
पिरको शिरमा बम छोडिदियो
चकनाचुरको दिल जोडिदियो
सपना जसरी जिल पारिदियो ।

वन आश्रय हो मनको कलको
बध भो रिसराग सदा छलको
मन मञ्जुल यो तन चञ्चल यो
अझ बढ्दछ यो सुख झन्झन पो ।

म त रम्दछु रञ्जित दृष्य जहाँ
र यहाँ छन प्राकृत सुन्दरता
वनका सब दृष्यहरू मनमा
छमछम्म गरीकन नाच्दछन ।

म त लोचन बन्द गरेर बसेँ
मृदु ध्वनि सुनेर चरागणको
वन जङ्गल गाँउछ गीत मिठो
मन ध्यान उतै छ बसेछु म त ।