म तिम्रो पाठमा प्रेम रोज्छु
तिमी मन मस्तिस्क खर्चिएर
कमाएको संस्कार सोध्छौ
जब सुन्दरता खोज्छु
तिमी पाना पल्टाएर
कल्पना पढाउँछौ
कल्पनामा चुर्लुम्म डुबाएर
कलाको बिस्कुन बन्न सुझाउँछौ
अनि म अनभिज्ञ हुन्छु
तिमी, भ्रमको प्रेम हौ वा प्रेमको भ्रम

म प्रेमको प्रतिफल सोध्छु
तिमी गुरूकुलमा वर्षौंको लगावमा
फक्रिएको गुलावी जीवन देखाउँछौ
गुगलबाटै प्रेम सागर भेट्ने म
एक दिवसीय अँगालोमा
वर्षेनी बहुरङ्गी गुलाब बदल्छु
मेरो यो ताकतले पनि
मात्र प्रेमको ल्याकत निकाल्न सक्दिनँ
अनि म अनभिज्ञ हुन्छु
सञ्जिवनी, एक गुलावी जीवन वा बहुरंगी गुलाव

जब म प्रेमको रक्षक खोज्छु
दुइटा गोलाकारको एउटा रिङमा
विश्वासको चाबी निकाल्दै
थुनेको प्रेम देखाउँछौ
खुला आकाशमा उड्न चाहने म
स्वतन्त्रताको आजको युगमा
फुक्दै गरेको विश्वासको धागो
कँस्न जान्दिनँ छोड्न पनि मान्दिनँ
अनि म अनभिज्ञ हुन्छु
विश्वास, थुनेको प्रेम वा स्वतन्त्र प्रेम

कठिन छ बुझ्न
तिम्रो प्रेमको थ्यौरी
प्र्याक्टिकल त झन् कहिलै मिल्दैन
हरेक वर्ष परीक्षामा उपस्थित हुने
उत्तीर्ण नहुने म कमजोर विद्यार्थी
त्यसैले म अनभिज्ञ छु
तिम्रो प्रेमको थ्यौरी र प्र्याक्टिकलमा ।

चन्द्रगिरी न.पा – १५, काठमाडौं