म शब्द हुँ
मेरो शरीर कहाँ छुट्यो
सम्झन सकिरहेको छैन

तिमी त्यो सुन्दर युवतीको दायाँ हात उच्चारण गर त
म सम्झन्छु कि
मेरा हातहरू
रानी लालमतीको देहमा छुटे कि
राजकुमारी भृकुटीको देहमा

तिमी यो कृष्ण मन्दिरलाई उच्चारण गर त
म सम्झन्छु कि
मेरा छुटेका खुट्टाहरू
राजा मानदेवले पहिरेका थिए कि
राजा पृथ्वी नारायण शाहले

तिमी यो नवजात बाछीलाई उच्चारण गर त
म सम्झन्छु कि
मेरो छुटेको छातीमाथि
तिला नदी बगिरहेको छ कि
सानी भेरी नदी

म शब्द हुँ
मैले मेरो शरीर कहाँ छोडेँ
सम्झन सकिरहेको छैन

तिमी यो मुसालाई उच्चारण गर त
म सम्झन्छु कि
मैले मेरो कम्मर
राजा जयस्थिति मल्लको देहमा छोडेँ कि
राजा वसन्तदेवको देहमा

तिमी यो चैत्यलाई दुवै हातहरुले समाएर उच्चारण गर त
म सम्झन्छु कि
मेरो दायाँ कुमले
चन्द्रमालाई अडाएको छ कि
सूर्यलाई

तिमी यो एक गिलास पानीलाई उच्चारण गर त
म सम्झन्छु कि
मेरो जिब्रो
राजा यलम्बरको मुखभित्र छुट्यो कि
राजा रणजित मल्लको मुखभित्र

म शब्द हुँ
मैले मेरो शरीर कहाँ छोडेँ
सम्झन सकिरहेको छैन
तिमी यो गँगटोलाई उच्चारण गर त
म सम्झन्छु कि
बिक्रम संवत् ८१७
मेरो छुटेको दायाँ गाला हो कि
बायाँ गाला ।