देशलाई जसो गरे पनि जनतालाई नदुख्ने ओखती सिकाइदेऊ
पाउन त देशमै पाइन्छ होला, तर पर्दैन बाहिरैबाट झिकाइदेऊ
भ्रष्टहरूको पेटमा देशको सम्पत्ति अटसमटस, जनताको पेटमा लात्ती मात्र भो
कि त जनताको मुख सिलाइदेऊ, नत्र भ्रष्टको पेट फुटाइदेऊ

कति, केके कुरामा अनि कहिलेसम्म दुखाउनु यो मन पनि
द्वन्द्व, क्रान्ति, भ्रष्टाचार, तस्करी यत्रतत्र अनगिन्ती
सीमित मान्छेकै रजाईँ झन् झन् बढ्दो छ देशमा
मै खाउँ, मै लाउँ चलिरहेछ फरक फरक भेषमा

कति सहनु हो विचरा हामी जनता
बाढी, पैरो, शितलहर, लू अनेकन समस्यालाई
क्रान्ति र लड़ाईं, अनि सत्तामा गएकाहरूको रजाईं
खाडीको गर्मी, कोरियाको चिसो, विदेशीको हेपाई
परिवारको न्यास्रो, शरीरको टुटाई, अनि हुने पो हो कि बाकसमा फर्काई

वृद्ध, बालक, युवा, वयस्क जसले गरे पनि
डाक्टर, वैद्य, धामी, झाँक्री जो अघि सरे पनि
लौन कि त जनतालाई पत्थर बनाइदेऊ
कि त यी किर्नाहरू सबलाई सिद्याइदेऊ।।

स्याङ्जा