चरित्रनिर्माण

छन्दः वियोगिनी

मनमोहक भावना गरा
दिलशृङ्गार बनून् नहुन् छुरा
मलनिर्मल हुन् विचित्रका
नवनिर्माण गरौँ चरित्रको।

कमलाकृतिझैँ बनून् प्रिय
नबनून् कण्टक हुन् सुधामय
छलशून्य बनोस् विवेक यो
नव निर्माण गरौँ चरित्रको।

वटवृक्ष समान हौँ सदा
सबको शीतलता र सौख्यदा
दिन सक्ने क्षमता उचालियोस्
नव निर्माण गरौँ चरित्रको।

बल पौरखले अजेय हौँ
सुखदा चिन्तन हुन् र प्राण हौँ
जनका मनमा विचारको
नव निर्माण गरौँ चरित्रको।

सुखको वहमा नहौँ वृथा
सबका दूर गरौँ न आपदा
बनिओैँ मणितुल्य देशको
नवनिर्माण गरौँ चरित्रको।

शरदेन्दु समान निर्मल
नलिनी पुष्पसमान कोमल
शिरसोच बलोस् विवेकको
नवनिर्माण गरौँ चरित्रको।

रसमा झुमिऊन् सखाहरू
पुतली भृङ्ग र माहुरीहरू
कुसुमाकरझैँ विचित्रको
नवनिर्माण गरौँ चरित्रको।

श्रमकौशलले झुकून् जन
परचक्री सबको जितौँ मन
अघि हौँ श्रमले समाजको
नव निर्माण गरौँ चरित्रको।

हितकारक हुन् कुरा सब
हृदयाकाश बनोस् सुधा अब
जनका मनमा पसे निको
नवनिर्माण गरौँ चरित्रको।

शुभ निर्मल शब्द आँकुरा
भन जिह्वा रसिला सधैँ भला
सब कष्ट हटून् सुवाक्यले
नवनिर्माण गरौँ चरित्रको।
१०

हरिप्रसाद रिमाल

मोती फल्ने डाँडा

छन्द- वियोगिनी
छन्द- शालिनी

डाँडाकाँडा छन् यहाँ भीर पाखा
अग्ला होँचा छन् सबै मस्त शाखा
सेता नाङ्गा दृश्य औधी छ उम्दा
चारै किल्लादेख्न पाइन्छ घुम्दा

सन्ध्यामा झन् सूर्यले स्पर्श गर्दा
मोती दाना बुर्र सेताम्य पर्दा
औधी राम्रो देखिने झन् सुनौलो
चौतर्फी देखिन्छ उत्कृष्ट नौलो

घुम्टो ओढी ध्यानमा छन् तपस्वी
जस्तै सारा देखिने झन् यशस्वी
गाह्रो उक्ली जान ज्यादै छ माथि
पल्टी हेर्दा शान्त सौन्दर्य साथी

घाँसे पाखासम्म मैदान फाँट
चौंरी च्याङ्ग्रा चर्दछन् एकसाथ
डाँफे उड्दा स्वर्गको भान हुन्छ
यस्तो धर्ती पुन्यले प्राप्त हुन्छ

अर्को यस्तो मिल्छ के स्वर्ग उम्दा
इच्छाले देखिन्छ आएर घुम्दा
नेपालीको मान सम्मान पाई
मिल्ला झन् सन्तुष्टि आए रमाई

रसज्ञ छहरा
कावासोची -३ नवलपुर, नेपाल

सिकाइ…शालिनी

 

पढ्दा लेख्दा शारदा साथ पाऊँ
यो धर्तीमा ज्ञान गङ्गा बहाऊँ
नौला नौला भावना दिव्य घोलूँ
मेरा सारा चित्तको द्वार खोलूँ ।

बास्ना छर्ने बाबरी बाग बारूँ
बानी मेरो स्वच्छ पारूँ सपारूँ
सिक्दै जाँदा सत्य मात्रै म बोलूँ
मेरा सारा चित्तको द्वार खोलूँ ।

खोला जस्तै जिन्दगी हो सबैको
राम्रो मात्रै देख्न पाऊँ सबैको
भित्री मैलो दूर फालूँ पखालूँ
मेरा सारा चित्तको द्वार खोलूँ ।

हाँस्दै झुल्छन् फूलले कन्दरामा
जन्मै जान्ने हुन्न कोही धरामा
सिक्दै बोलूँ गोप्य मैले नखोलूँ
मेरा सारा चित्तको द्वार खोलूँ ।

पानीलेझैँ मार्ग आफैँ बनाई
जानूँ मैले ज्ञान मेरो कमाइ
आफ्ना मान्छे वा पराई पगालूँ
मेरा सारा चित्तको द्वार खोलूँ ।

शान्ति सिग्देल

हाम्रा सारा चित्तका द्वार खोलौँ

 

कालो मैलो तुच्छ जालो निकालौँ
जालो फाली दिव्य आभा अँगालौँ
हामी प्रातः वन्दना शब्द बोलौँ
हाम्रा सारा चित्तका द्वार खोलौँ।

साना साना भाइ बैनी सिकाऊँ
सिक्ने इच्छा भित्रबाटै जगाऊँ
राम्रो बोली प्रेमका भाव घोलौँ
हाम्रा सारा चित्तका द्वार खोलौँ ।

हामीलाई चाहिने शुभ्र भाव
शिक्षाले नै छर्छ राम्रो प्रभाव
राम्रो सोची कर्मले अर्थ मोलौँ
हाम्रा सारा चित्तका द्वार खोलौँ ।

हाम्रो धर्ती पारिएको पछाडि
दौडी जाऊँ पुग्न पर्ने अगाडि
धर्तीलाई अग्र पार्ने कबोलौँ
हाम्रा सारा चित्तका द्वार खोलौँ ।