पुलकित थियो दुनियाँ
अब नवीन बिहानी आउनेछ
शितल वायु चल्यो
मिर्मिरेको पूर्वैया समीर
दुब्ला पातला अकिञ्चनहरू
आशाप्रद भावमा हात फैलाए
वृद्धहरूले आशीर्वाचन गरे
युवाहरूले हौसला दिए
बालबालिकाले गीत गाए
आर्तरूले मलमको आशा गरे
वातावरण सुरम्य भयो
भरोसाका दीपक जले
आहा !
आशा जीवन जीवन आशा
अब ज्योतिहीन ताराहरू अस्ताउनेछन्
जीवनहीन वृक्षहरू पछारिनेछन्
लाल र जालहरू बिदा हुनेछन्
खिया लागेका हँसिया हथौड़ा थन्किनेछन्
सबेरै सलज्ज उदायो रवि
सङ्कोची शालिन र सुशील
घरघरमा मङ्गलधुन र घण्टीहरू बजे
फेरि अकस्मात
निम्नचापीय क्षेत्रमा पुग्नासाथ
शितल पवन तुफान बन्यो
मानिसहरू बोले ‘आउन देऊ तुफान
बढार्न देऊ कसिङ्गर
अब तुफानमा फूल फुलाउनुपर्छ
काँढाबीच पनि ललहाउनुपर्छ’
तर विडम्बना !
सहसा तुफान अभिमान बन्यो
फूलहरूको भरोसाले भूल गर्यो
एक हुल फूलहरू प्रसन्न भए
अर्काथरीको छातीमा दर्द थियो
परन्तु चुप रहे
तथापि कसैले सोध्यो रे
‘पाकेको आहारा ओथाउन नपाउँदै
थाकेको मनले थरक मार्न नभ्याउँदै
होस बिनाको भावुक जोसमा
किन हतार गर्यौ ?
अर्को मुहूर्तमा आफैँ नारायण हुने थियौ
यही मुहूर्तमा नारायणी सेना किन रोज्यौ ?
साँचो हातमा नपर्दै
घनघोर चक्रव्यूहभित्र किन पस्यौ ?
विदुरको सादगी भोजन छाडेर
किन दुर्योधनकहाँ माखनखोर भयौ ?’
तिमीले उत्तर दियौ रे
‘नरनारीका खातिर’
तिम्रा प्रफुल्ल फूलहरूले ताली बजाए
अभिमानहरू उफ्रे उफानमा
कोही बबन्डरझैँ बटारिए
तिमी दङ्ग पर्यौ
फेरि
विपरीत दिशामा बग्ने तुफानको टक्करमा
नवीन पालुवाहरू झरे
हाँगा भाँच्चिए
त्यो आशा यो निराशा
खेल्न थालेका फूलहरू निष्पन्द भए
गहकिला फूलहरू हतप्रभ भए
प्रज्ञाहीन फूलहरू मदहोस हाँसिरहे
केही प्लास्टिकका फूलहरू
तुफानसँग मितेरी गाँसेर मडारिइरहे
बेहोसीको बेगले दर्जनको वस्त्र उडायो
तिमी आफैँलाई पनि छाडेन
सर्वाङ्ग निर्वाङ्ग बनायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।