उसले ममा
धर्म भ-यो
ईश्वरकै रूपमा देखेँ उसलाई
उसलाई पाउन
पूजा, प्रार्थना, ध्यान, तपस्या गरेँ
नित्य उसकै भजन लेखेँ/गाएँ
तर उसलाई कहिल्यै पाउन सकिनँ!

खोई! के भयो कुन्नि?
धर्मदेखि अलि टाढा भएँ
टाउको अलि हलुङ्गो भयो

उसले ममा
फेरि
अध्यात्म भ-यो
खोई! केकस्तो जादु ग-यो कुन्नि?
ईश्वरको अवतार र महामानवको रूपमा देखेँ उसलाई
उसकै कथा, कविता, गीत लेखेँ
तर
जीत कहिल्यै भएन मेरो
दुःख कहिल्यै गएन मेरो

अध्यात्मदेखि पनि अलि टाढा भएँ
टाउको अझ हलुङ्गो भयो

उसले ममा फेरि दर्शन भ-यो
खोई! केकस्तो चमत्कार ग-यो कुन्नि!
दार्शनिक ठानेँ उसलाई
मेरो जीवनशैलीको निर्देशक मानेँ उसलाई
तर मेरो जीवन जस्ताको तस्तै रह्यो
अघि बढ्न खोज्दा केवल काढेँतार लगाइयो
मलाई सधैँ पैतालामुनि दबाइयो

एकदिन
उसले भरिदिएका धर्म, अध्यात्म र दर्शन सारा मिल्काएर
आफूमा केवल विज्ञान भरेँ
जीवनजगत हेर्ने नौलो दृष्टि प्राप्त गरेँ
मेरा मान्छेका मस्तिष्कमा विज्ञानकै बिउ छरेँ
अत्यन्त हलुङ्गो महसुस गरेँ
तर,
उसको लुटको स्वर्ग–साम्राज्यको जग डग्मगाउन थालेको देखेर
कट्टर दुश्मन बनेको छ अहिले ऊ मेरो

धर्मले विज्ञानलाई सधैँ कुल्चिरह्यो
र, पनि विज्ञान नित्य फक्री नै रह्यो
आज विज्ञानको उत्कर्षको यो युगमा
धर्म/दर्शनलाई आआफ्नो अस्तित्व जोगाउन
अन्ततः विज्ञानकै सहारा चाहिएझैँ
मलाई सधैँ कुल्चिरहेको ऊ पनि
आफ्नो अस्तित्व जोगाउन
अन्ततः मेरै शरणमा पर्नेछ
अन्यथा
डाइनोसरझैँ सधैँका लागि मर्नेछ।