१. कविताको किरो
रमेश प्रभात
कविताको किरो
लेखेपछि हिरो
जीवनका कुरा
लेख्छ सधैँ पुरा
छिचोलेर सिरो
कविताको किरो
आँसु पनि लेख्छ
हाँसो पनि लेख्छ
नछाडेर चिरो
कविताको किरो ।
बाबुनानी सबै
पढ्छन् खुसी भई
छैन कत्ति पिरो
कविताको किरो ।
पढी त्यो कविता
खुसी भइन् रीता
हुँदै हुन्न जिरो
कविताको किरो ।
*****************************************************************************
[साविक पुर्कोट गाविस तनहुँमा जन्मेर हाल भरतपुर महानगरपालिका-१५, मङ्गलपुर चितवनमा बसोबास गर्दै आएका रमेश प्रभात (२०२९) पेशाले प्राध्यापक हुन् । विशेष गरी नेपाली समालोचनाको क्षेत्रमा कलम चलाउँदै आएका प्रभातले बालसाहित्यतर्फ फुटकर बालकविताका अतिरिक्त पुस्तकाकार कृतिका रूपमा ‘प्रायश्चित्त’ नामक बालकथा सङ्ग्रहको पनि प्रकाशन गरिसकेका छन् । बालबालिकाको मनोविज्ञानलाई खोतल्दै बालसुलभ कोमल भावनाको प्रयोग गरेर बालरुचिअनुकूलको विषयवस्तुको चयन गरी बालकविता सिर्जना गर्नु उनको बालकवितात्मक वैशिष्ट्य हो । उनको प्रस्तुत ‘कविताको किरो’ बालकवितामा कविताको किरो भनेर कविता लेखनका क्षेत्रमा समर्पित कविलाई इङ्गित गर्न खोजिएको छ । कविका अत्यन्त स्वादिला कविता पढेपछि बालबालिकाहरू खुसी हुने कुरा अभिव्यक्त गरिएको यो कविता २+२+२=६ अक्षरे सबाइ छन्दमा रचिएको छ ।]
—————————————————————————–
२. गाउँले ठिटो
मित्र `उराठी´ गौतम
हेर कति रमाइलो छ हाम्रो घर, गाउँ
यस्तो सुन्दर गाउँ छोडी अन्त कता जाऊँ ??
कलकल बग्ने नदीनाला हरियाली वन
साथीभाइ खेल्दै घुम्छौँ रमाउँछ मन
गर्मी भए खोलातिर गई पौडी खेल्छौँ
खेल्दाखेल्दै भोक लागे जङ्गलतिर पुग्छौं
ऐसेलु र काफल, तिजु फल्छन् लटरम्म
मजासँग टिपी खान्छौँ पेट हुन्छ डम्म
बेँडुला र खन्यू पाक्छन् बारी काल्नाभरि
किमु,जामुन अरु पनि फलफूल अनेकथरी
मूलको पानी जम्मा पार्ने कुवा खनाएर
पिउँछौँ पानी जलुका पात खोची बनाएर
तिर्खा लाग्दा मूलको पानी अमृत जस्तै मिठो
चिसो पानी खाई हुर्केको म हुँ गाउँले ठिटो
धान खेतमा धान फल्छ कोदो, मकै अन्न
गाउँ समाजले सिकाउँछ स्वाबलम्वी बन्न ।।
*********************************************
[वि.सं. २०३० जेष्ठ २४ गते अमरपुर, गुल्मीमा जन्म भई हाल तिलोत्तमा न.पा. -२ जानकीनगर, रुपन्देहीमा बसोबास गर्दै आएका कवि मित्रप्रसाद गौतम साहित्यमा मित्र‘उराठी’ गौतमका नामले चिनिन्छन् । २०७७ सालमा ‘लकडाउनको उपहार’ नामक कविता सङ्ग्रह प्रकाशित गरेका उनको उनको राष्ट्रिय गीत रेडियो नेपालमा रेकर्डिङ समेत भएको पाइन्छ । जिल्ला तथा प्रदेशस्तरीय कविता प्रतियोगितामा पटक पटक पुरस्कृत भइसकेका उनले साहित्यमा योगदान पुर्याए बापत विभिन्न सम्मान तथा पुरस्कारसमेत हात पारिसकेका छन् । साहित्य पोस्ट इ-पत्रिकामा उनका रोचक र स्तरीय लघुकथाहरू निरन्तर प्रकाशित हुँदै आइरहेका छन् । उनको प्रस्तुत ‘गाउँले ठिटो’ बालकवितामा कविले रोचक पाराले आफ्नो गाउँको प्राकृतिक सुरम्य वातावरणको परिचय गराएका छन् । गाउँमा साथीभाइसँग गरिने रमाइलोको चित्रण गरिएको यस कवितामा गाउँमा हुने रमाइलो परिवेश र त्यहाँ पाइने मिठामिठा खानेकुराको समेत प्रसङ्ग कोट्ट्याएका छन् । कविता १४ अक्षरे सबाई छन्दमा रचिएको छ ।]
————————————————————————————-
३. चित्त
नन्दलाल आचार्य
मेरी सानी आएर सोध्न थालिन् सवाल
छक्क परेँ म अझ दिनु पर्दा जवाफ ।
मेरो माया पाएर हुर्की गयो बिरुवा
मेवा दिँदै दिएन बनेँ म त हरूवा ।
यस्तो सुनी गथासो परेँ म त सकस
आएपछि समय भनेँ दिन्छ बकस ।
काम गर्ने मान्छेले दाम कल्ले पाएन
यस्तो प्रश्न गरेको चित्त बुझ्दै बुझेन
बगैँचामा लगेर फलफूल देखाई
चित्त बुझ्यो उनको माली दाइ भेट्टाई ।
************************************************************
[वि.सं. २०३० साल असार २८ गते उदयपुरमा जन्मेका कवि नन्दलाल आचार्य साहित्यका विविध विधामध्ये आख्यान विधामा समर्पित स्रष्टा हुन् । २०५२ सालदेखि बालसाहित्य लेखनको आरम्भ गरेका आचार्यले ‘समयका नव रंग’ बाल एकांकी लेखन र मञ्चन गरेका छन् । युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक/एकाङ्की सङ्ग्रह, गरुराहा उपन्यास, पुण्य कार्कीको कथाकारिता (समालोचना सङ्ग्रह) एक हाते जीवन निबन्ध सङ्ग्रह उनका प्रकाशित कृति हुन् भने अन्य कृतिहरू प्रकाशनको पर्खाइमा लामबद्ध छन् । साहित्यका क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप उनले थुप्रै सम्मान र पुरस्कार समेत हात पारेका छन् । कविताको आशयका सम्बन्धमा स्वयम् कवि यसो भन्छन्: सानी छोरीको मनमा जिज्ञासा मडारिइरहेको छ । आफूले रोपेको बिरुवाले तत्कालै फल नदिएको गुनासो उनले पोखिन् । समय आएपछि फल अवश्य दिन्छ, ढुक्क होऊ भनेर सम्झाएँ । उनको चित्त बुझेन । काम गर्दै जाँदा ढिलोचाँडो दाम पाइन्छ भनेर सम्झाउने लाख कोसिस गर्दा पनि उनको चित्त कहिल्यै बुझेन । त्यस पछि मैले उनलाई बगैँचामा लगेर अनेक थरिका फलहरू देखाएँ । माली दाइसँग उनको भेट गराएँ । माली दाइले पोहरसम्म नफलेको बोटमा यस वर्ष लटरम्म फलेको देखाइदिए । साना बिरुबा बढेर फल लाग्ने सम्झाए । मेरो बोली वा भनाइभन्दा माली दाइको बोली व्यवहारिक लाग्यो, विश्वासिलो भयो छोरीका लागि । यही घटनालाई नै कविले कविताको रूप दिएका छन् । कविता बालोरी छन्दमा रचिएको छ ।]
————————————————————————————————————
{ यस स्तम्भमा सहभागी हुन चाहनुहुने स्रष्टाहरूले आफ्ना बालकविता, फोटो र बायोडाटा nepalibalkabita@gmail.com ठेगानामा पठाउन सक्नुहुनेछ ।}
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।