म बिर्सी दिनेछु
एकैछिनका लागि
सगरमाथाको टुप्पोमा पर्वतारोहीहरूले
फ्याँकेका प्लास्टिकका बोतल कृत्रिम हुन्
बागमतीमा हालिएको ढलको पानी धमिलो होइन
कारखानाको चिम्नीबाट निस्किएका धुँवाले कसैको आँखा पोल्ने छैन
म सम्झी दिन्छु
एकैछिनका लागि
भूमाफियाबाट प्रताडित छैन हाम्रो धर्ती
बाढी पहिरोले घर खेत बगाउँदा
पाइने दुःखले केही लछार्ने छैन
जङ्गल मासिनु जंगली जनावर हराउनु स्वभाविक हो
अब उड्दैनन्
न्याउलीहरू
मासिएपछि बोट बिरुवा बहँदैन
अक्सिजनयुक्त स्वच्छ हावा
कराउँदैनन् भ्यागुताहरू
पर्दैन पानी वर्षौंसम्मन्
निचोड यो निस्के पनि
म कल्पी दिन्छु
यी सबै एक छिनका लागि न हुन् !
नक्कलमा कावा खाँदै
हामी पर्यावरणलाई धस्त पार्दैछौँ
हामी सिमसार मासेर हाँसी रहेछौँ
हामी गैँडाको सिकार गरेर बजारबाट
नक्कली गैँडा घर भित्र्याउँदैछौँ
पक्कै अब ब्युँझनु पर्छ
कालो महत्त्वाकांक्षी मपाइँत्वबाट
हात धुनुपर्छ अरु जीव जन्तुप्रति गरिने थिचोमिचोबाट
तब मात्र यो सुन्दर मानव बस्तीमा
हरियो खुशीले घर गर्नेछ
हिमालको तातो
पहिरोको पीरले सताउने छैन
म चाहन्छु यो मेरो सोच एकछिनको लागि नहोस्
सधैँको लागि होस् ।
दमक बजार-७ , बगैंचा मार्ग, झापा
कोशी प्रदेश
(कवि विवेक दुलाल क्षेत्री दमकको वास्तविक नाम भानुभक्त दुलाल हो । उहाँ सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँले आफ्नो एकल कविता संग्रह ‘हिम आइमाईहरू’ (२०७५) सहित विभिन्न विधामा आधा दर्जन कृति बजारमा ल्याउनु भएको छ ।)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।