म लेख्छु र लेखिरहन्छु
मन पराउन पाइन्छ
मन नपराउन पाइन्छ
म मनका कुरा लेख्छु
म तनका कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

म मेरो माटोको कुरा लेख्छु
म मेरो गाँठोको कुरा लेख्छु
सुख भोग भाग्यमा रहेनछ
थोरै सुखका कुरा लेख्छु
धेरै दुःखका कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

अलि कति माया मिसाएर लेख्छु
आफ्नै कर्मसँग रिसाएर लेख्छु
जस्ले बुझोस् त्यसै गरी बुझोस्
म आशै आशको कुरा लेख्छु
म थोरै साहसको कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

म मलाई हुर्काउने गाउँ सम्झेर लेख्छु
म मलाई चिनाउने ठाउँ समेटेर लेख्छु
जिन्दगीले परीक्षा लिइराखेकै छ
म मेरै पाखाको कुरा लेख्छु
म मेरै भाकाको कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

म भोकाएको भिखारी भएर लेख्छु
म तड्पिएको शिकारी भएर लेख्छु
पाउनु र गुमाउनु त नियति हो
अपेक्षाको आश मारेर लेख्छु
अर्थको राश सारेर लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

मेरै पखेरोको भन्ज्याङमा बसेर लेख्छु
सहअस्तित्वको पर्खाल रचेर लेख्छु
माया लाउनु पाउनु मात्र हैन रे
म भोगाइका प्रीतका कुरा लेख्छु
प्रीतमै गुन्गुनाएका गीतका कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

डाहा गर्नेहरूलाई ईर्ष्यालु बनेर लेख्छु
माया गर्नेहरुलाई मनले चुनेर लेख्छु
उसले चिन्यो, उसले भुल्यो
भोग्ने चाह बाँकी छ, ऐशका कुरा लेख्छु
यादले कोट्याउँछ बैँशका कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु

मसँग भाषा छ, साहित्य छैन र पनि लेख्छु
जीवन ज्योति छ, उज्यालो छैन र पनि लेख्छु
अन्धकार छ जीवन, कालन्तरमा पुग्नै पर्छ
म जिउँदो सम्बन्धको कुरा लेख्छु
म बाध्यात्मक अनुबन्धको कुरा लेख्छु
त्यसैले म लेख्छु र लेखिरहन्छु ।