एक युगमा दशक-दशक जुनी बाँचेको
मीठो युगल जोडीको प्रेमिल यात्रा
मिलन र खुशीको बगैंचामा
फुल्दै गरेको प्रेम फूल
पिरतीको पछ्यौरीमा एक ढक्की उमंगको कोपिला
दर्बिलो भरोसाको देउरालीमा
समाज राखेर साक्षी
ईन्द्रेणीमा अटेको रातो रङको सिन्दुर
सेतो कोरा सिँउदो
रक्तरंजित रातो रङमा सजिदै
जीवनको अर्को अध्यायको प्रारम्भ
कसैको छोरी हुँदै
बन्यो कसैको बुहारी
अनि बनेको थियो तिमी मेरी
महान् प्यारी आमा ।
***********

आमा !
म तिम्रो रगतको एक ढिक्का
तिमीले फेरेको एक फाँक सास
तिम्रो मुटुको ढुकढुकी
सुन्दर तिम्रो गर्भ
मेरो सृष्टिको आधार
तिम्रो पाठेघरको न्यानो मुलायम कोठामा
नौ-नौ महिना बोकी हिँड्यौ
बोकी हिँड्दा पीडा भएन तिमीलाई ?
अवश्य पीडा भएको थियो होला
हिजोआज खाना थोरै बेसी हुँदा थाहा पाएको छु मैले
आमा तिमीले पीडा खेप्यौ
आमा तिमीले दु:ख सह्यौ
र त आज “म ”
म भएर बाँच्न पाएको छु
यो सुन्दर संसारमा
तिमी कहिलेकाहीँ म दुख्दै गर्दा
मेरो दुखाई तिम्रो आँखाको बाटो हुँदै
आँशु बनेर बग्थ्यो
म बिमार परेर ओछ्यान पर्दा
निद्रा तिमीलाई लाग्दैनथ्यो
तिमीले मलाई कति माया गर्‍यौ
लाग्छ हिजोआज
त्यत्ति धेरै माया तिमी आफैँले आफैँलाई गरेनौ होला
तिम्रो प्रेममा
फूलैफूलको मौसम खसेको थियो
हाम्रो परिवारमा
मेरो जीवनमा

आमा
छन् भने यो दुनियाँमा देउता
त्यो तिमी हौ
छन् भने निःस्वार्थ प्रेम
त्यो तिम्रो मनबाट निस्कन्छ
तिम्रो प्रेमको अर्थ केलाउने म को हुँ र ?
जब तिम्रो प्रेमको
परिभाषा मैं हुँ

आमा
तिम्रो प्रेम
हरदम सजाएको छु
मनको एउटा कोठामा ।
सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक
हालः लिमासोल, साइप्रस