
सेम्युल बिकेटको नाटक
‘वेटिङ फर गोडो’मा
कहिल्यै नआउने आगन्तुकलाई पर्खेजस्तै
एकहुल मानिस पर्खिरहेछन्
कहिल्यै नआउने सपनाको अदृश्य मसीहा
प्रार्थना गर्दै, ताली पड्काउँदै
गुलाम जीवनको सडकपेटीमा ।
जसरी
‘वेटिङ फर गोडो’मा
अनिश्चित पर्खाइ मात्र छ
अर्थहीन पर्खाइ मात्र छ
तर कसको पर्खाइ
केको लागि पर्खाइ
पर्खनेलाई केही थाहा छैन
र त्यो आगन्तुक आउँदा पनि आउँदैन ।
हो त्यही अर्थहीन पर्खाइ
अनिश्चित पर्खाइमा छन्
एकहुल मानिस
उनीहरू केवल
सत्तापूजाको भजन–कीर्तन गाउँछन्
तर के गाए भेउ पाउँदैनन्
केवल ताली मात्र पिट्छन्
तर किन पिटेँ अर्थ जान्दैनन्
केवल पर्खिरहेछन्
कहिल्यै नआउने
सपनाको अर्थहीन अभिलाषा ।
उनीहरू
केवल एउटै गीत गाउँछन्—
‘आउँछ, आउँछ, एकदिन त आउँछ ।’
तर के आउँछ
को आउँछ
कस्तो आउँछ
किन आउँछ
कहाँ आउँछ
कतिबेला आउँछ
केका लागि आउँछ
केही भन्दैनन्
केही जान्दैनन् ।
अस्तित्ववादी नित्से आए गए,
उनीहरू बेखबर छन्
विकासवादी वैज्ञानिक डार्विन आए गए,
उनीहरू बेखबर छन्
निउटन, आइन्सटाइन, हकिन्स
आए गए, उनीहरू बखबर छन्
सिग्मन फ्रायड
मार्क्स, मन्डेला आए गए
उनीहरू बेखबर छन्
गुरुत्वाकर्षणको नियम
विशिष्ट सापेक्षताको सिद्धान्त
सामान्य सापेक्षताको सिद्धान्त
हुँदा हुँदा क्वाण्टम फिजिक्सको सिद्धान्त
सबै सबैदेखि
उनीहरू बेखबर बेखबर छन्
केवल बर्बराइरहेछन् एउटा भजन
केवल रट लगाइरहेछन् एउटा कीर्तन
‘आउँछ, आउँछ, एकदिन त आउँछ ।’
तर के आउँछ?
किन आउँछ?
कहिले आउँछ?
केही अत्तोपत्तो छैन
केही सुनिश्चितता छैन।
खोइ यो
बहुलट्ठीपन हो कि
गुलाम मानसिकताको उपज हो !
पर्खिरहेछन् एक हुल मानिस
अनिश्चितता, अर्थहीनता, महाशून्यता
गुलाम जीवनको सडकपेटीमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

