राती अबेरसम्म
घरधन्दा गरी
सुत्छिन् कतिखेर
थाहा छैन ! आमा
बिहानै
भालेलाई जगाएर
दैलो तानी
हालेर डोकोमा रित्तो गाग्रो
झुन्डाई हातमा सानो हत्तर
टाढा पँधेराको
पानी उभाउन
जुनकिरीको उज्यालोमा
ओरालो झर्छिन् आमा

सुस्तरी !!

किनकि
थाहा छ उनलाई
आवाज आए घरमा
बिच्कन सक्छ बा, दाजु र हामीहरूको निद्रा
जाग्न सक्छन् अँधेरैमा नानीहरू
आवाज आए बाटोमा
उछिन्न सक्छिन् साइँली बजैले
चाल पाउन सक्छन्
गाउँका अरु बुहारीले !

अनि

नभरिन सक्छन् रित्ता भाँडाहरू
यही निहुँमा
सुन्नुपर्छ बिहानभर बजैको महाभारत !
नपाक्न सक्छ
एकछाक आटो !
त्यसैले
सुस्तरी
पाइला सार्दी हुन् आमा
सुस्तरी ! सुस्तरी !!