राँको बाल्न नथाक

डा टंकप्रसाद पन्थ

छन्दःशार्दूलविक्रीडित

गणःम स ज स त त गुरु

विश्रामःछ र बाह्र अक्षरमा

नाता भित्र पसेर जान सबले सम्बन्धका बन्ध हुन्
हाम्रा मौलिक कर्म ज्ञान मनका आनन्दका नन्द हुन्
टेक्ने भूतल खोज्छ आज कसले आधारका धार यी
हाम्रा जीवन बिम्ब दिव्य सुकिला सौन्दर्यका हार यी ।

बाँचौँ जीवन मूल्यसाथ जगमा विश्वासका श्वास हुन्
ताकौँ लक्ष्य भविष्यका सगरमा आस्मानका आस हुन्
खोलौँ मार्ग सदैव योग्य गतिमा आयोगका योग हुन्
थालौँ सार समस्त चिन्तन स्वयं संयोगका भोग हुन् ।

चढ्छन् जो बलिमा लडी समरमा उत्सर्गका सर्ग हुन्
बाँच्छन् जो युगमा सधैँ अमर ती आदर्शका गर्व हुन्
उठ्छन् देश समाजका धरहरा सम्मानका मान हुन्
प्रज्ञा बल्छ प्रकाश छर्छ विनयी विज्ञानका ज्ञान हुन् ।

भेट्नै पर्छ उचाइका धवल ती उत्कर्षका कर्ष हुन्
लेख्नैपर्छ बुझाइका सकल ती निष्कर्षका वर्ष हुन्
हाम्रा कर्म निखार्नुपर्छ बलले आचारका चार यी
आस्थाभित्र उमार्नुपर्छ सजिलै संस्कारका कार यी ।

आँखामा सब खुल्छ दिव्य ममता सौहार्दका पर्व हुन्
मान्छे कोमल बन्छ भित्र सजिलै औदार्यका गर्व हुन्
बाँचौँ आज यहाँ प्रवाह नगरी संवाद नै वाद हुन्
बोलीमा गुण मूल्य छन् जीवनमा उद्गार ती याद छन् ।

राँको बाल्न नथाक जाग युगको संज्ञानका ज्ञानमा
यात्रा चल्छ उछिन्न थाल अब यो उत्थानका थानमा
हाम्रा मार्ग सदा अभिन्न गतिमा आदर्शमा उठ्दछन्
जागा छन् जनता सबै समयमा सङ्घर्षमा जुट्दछन् ।

 

वसन्त मुस्कुराउँदा

वीणा रोका

छन्द पञ्चचामर
गणःज र ज र ज गुरु
विश्रामः आठ अक्षरमा

चलेछ हर्षको घडी वसन्त फुल्ने खोँचमा
मिठास छर्छ कोइली गुराँस फुल्ने बोटमा
मुनाल छेउ आउँदा मयूर नाचने भयो
मुसुक्क शैल हाँस्दछन् जलाइ शान्तिको दियो ।

अनेक फूल फुल्दछन् रमेर बागमा सधैँ
चुमेर माहुरी सदा हँसाइँ दिन्छ झन् अझै
गुलाब प्रेम छर्दछन् समस्त भातृ भावमा
रमेर पारिजातले सुवास छर्छ रातमा ।

झुलेर धान खेतमा सुवर्ण रङ्ग देखिने
अनेक औषधी बुटा पहाडभित्र भेटिने
हिमाल तुङ्ग टाकुरा पतङ्ग फर्फराउँदा
अचम्म पर्छ विश्व नै वसन्त मुस्कुराउँदा ।

अनेक भेष जातमा अनन्त सत्य बातमा
हरेक कर्म खासका लिएर बुद्ध साथमा
मुहार फेर्न शैलले सुरम्य बन्न थाल्दछ
उचाइ पुग्न मानुषी नवीन पाउ चाल्दछ ।

नयाँ बनेर रोशनी समग्र ज्ञान पाउन
रचेर भक्ति भावना बसेर नित्य गाउन
वहोस नीर धाममा फुलोस उच्च जाँगर
अनेक दृश्य देशमा म हेर्न पाउँ सुन्दर ।

 

दूरीः एक प्रेम पत्र

 

प्रतीक अधिकारी

छन्दःभुजङ्गप्रयात
गणःय य य य
विश्रामः छ अक्षरमा

म माटो नदीको, तिमी छहारी हौ
म ढुंगा सरीको, तिमी चाँदनी हौ
तिमी भावना चाहना कल्पना हौ
म रित्तो घटा, पूर्णतामा तिमी छौ।

कतै चोट लाग्दा म पीडा सहन्छु
बिना भोक तिर्खा म ज्यूँदो रहन्छु
म बिर्सिन्छु सारा हराई तिमीमा
र पौडन्छु त्यो प्रेमको पोखरीमा।

नदी बग्छ गन्तव्यमा लक्ष राखी
परे मार्गमा विघ्न बाधा हटाई।
कुनै चाहना बाँकि छैनन् धरामा
तिमी लक्ष मेरो बन्यौ जीन्दगीमा।

 

सबैले धरामा नयाँ बीज छर्न।
नयाँ चाहना बाध्यता पूर्ण गर्न ।
सयौँ दूर, आकास माथ हराई
पुगे देश नौलो सबै छन् पराई।

कयौँ तापले आशका पत्र सुक्छन्
र खस्कन् धरामा नयाँ पत्र उग्छन्
नमिल्छन् निसानी सुके वृक्ष सारा
ढले भाँचिए मिट्टिमा मिल्छ सारा ।

अडेको छ यो प्रेमको पाखुरीले।
भरोसा र विश्वास यो माधुरीले
सयौँ आँशुका धारले छन् उज्याला
सुके पत्र शाखा उजाडिन्छ सारा ।

कतै कामले रोगले पो सतायो
कि सम्झ्यौ तिमीले र बाडूल्कि लाग्यो
नयाँ देशमा भेषमा गीत गाई
बसे पर्खिदै फर्कनेछु पियारी ।

न पैसा न चाँदी भए एक मानो
खुशी छर्दछन् अन्नका एक दानो
यिनै चार फाटा लुगामा रमौला
बसी गाउँमा खेतबारी गरौला।