हामी स्वतन्त्र छौं
प्रतिबन्धित हुनका लागि स्वतन्त्र
शोषित हुनका लागि स्वतन्त्र
हामी जहाँ पनि शोषित हुनसक्छौं
इतिहासमा दासहरू पनि बेचिन स्वतन्त्र थिए
भूदासहरू दासहरूभन्दा स्वतन्त्र हुन्थे
श्रमिकहरु भूदासभन्दा स्वतन्त्र छन्
तर, मालिक छान्न स्वतन्त्र
हामी पनि स्वतन्त्र छौं
नयाँ सत्यका रुपमा आउन
र अन्धविश्वासको रुपमा अन्त्य हुन
यो युगको
पात्रो पल्टाउँदै
हामी घोकिरहेका छौं पट्टु शिक्षा
प्रतिबन्ध भनेको अनुशासन हो
विधि, पद्धति, संहिता र चेतना हो
चेतनायुक्त हुन प्रतिबन्धमा हुनुपर्छ
प्रतिबन्धमै रहेर
आज्ञाकारी हुन
सपना देख्न
ऐंठनमा पर्न
ऋणी हुन
गरिब हुन
पलायन हुन
समयमै कर तिर्न
साहुको ढिकुटी भर्न
लुटिन, लुटाउन
आफ्नै घरमा भोक हड्ताल गर्न
भनेकै मान्छेलाई भोटहाल्न
जयजयकार गर्न
हामी स्वतन्त्र छौं
अब बन्द हुनपर्छ
प्रतिबन्धको स्वतन्त्रता
भ्रमको स्वतन्त्रता
अन्धविश्वासको स्वतन्त्रता
स्वतन्त्रताको शोषण
शोषणको जयजयकार
जयजयकारले बनाउँदैन समाजको सचित्र
न बदल्छ नै यो यूगको चरित्र
बरु आफैं बदलिन्छ
र हाम्रो इतिहासमा टेकेर युगौं उभिन्छ
भ्रमपूर्ण स्वतन्त्रताको लिङ्गे पिङ हल्लाउँदै
चुपचाप, निशब्द
यो युगमा जन्मने
ए वफादार मानिसहरु
पूर्व मानिसहरुका कुरा सुन
यो समयको बोध गर
स्वतन्त्रताको समाधिनेर घोत्लिएर
पराजितहरुको उदास मण्डलीको सदस्य हुन बन्द गर
संसारलाई मानवविहीन नबनाउने हो भने
मृत सास नफेर
आधुनिक दासता अस्विकार्दै जन्म लेऊ
जन्मनुको नकावभित्र लुकेको पीडा महसुस गर
त्यही पीडालाई उधिनेर
जोडसँग चिच्याऊ “परिवर्तन”
र हाँस
स्वतन्त्रताको उन्मुक्त हाँसो
जसलाई हामी युगौंयुग पछ्याइरहने छौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।