ऊ – के छ?
म – के भैदिए हुन्थ्यो ?
ऊ – मुटुभरि माया
मुहारभरि खुसी
आँखामा चमक
शरीरमा स्फूर्ति
दिमागमा ताजापन
मनभरि सम्झना
तिमीलाई लागिरहे हुन्थ्यो धर्ती हाँसिरहेझैँ
आकाश मुस्कुराएझैँ
फुलेका फूलहरू आफैँसित आँखा जुधाइरहेझैँ
नदीहरू बगेझैँ तिम्रै लागि
चराहरू रमाइरहेझैँ तिम्रै मनको गीतसँग
तिमीलाई लागिदिए हुन्थ्यो कि
चिलाउनेहरूले पालुवा मेरै आँखाका लागि फेरेका हुन्
मेरै हृदयका लागि कोइलीले पञ्चम राग गाएको हो
पहरा रसाएका हुन् मेरै लागि
मेरै लागि मुस्कुराएको हो अन्नपूर्ण
मेरै मनको खुसी पग्लिएर बनेको हो फेवा
मेरै सुरक्षाका लागि बसेकी हुन् तालबाराही
गुराँस मेरै लागि फुलेको हो
मेरै लागि बगेको हो सिरिसिरी हावा
मेरै अन्तस्तलबाट धुन चोरेर बज्दो हो बाँसुरी
मेघले मेरै केशको रङ्ग चोर्दो हो
मैलाई हेर्न झ्यालबाट छिर्दो हो एक टुक्रा जून
मेरै निम्ति हो यो सृष्टि
यो सब अनुभूतिसँगै
एकान्तमा मुस्कुराइरहँदा तिम्रो मुहार
मनभित्र यो पनि भैदिए हुन्थ्यो कि
सृष्टिले यो एउटा काँडा
तिम्रै लागि सृष्टि गरिदिएको हो ।
म्याग्दी
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।