मान्छेहरू विभिन्न स्वभावका छन्
त्यसैले त यो दुनियाँ हो
ती नहुने हो भने दुनियाँ
कहाँ हुन्थ्यो र ?
अनि यसरी आज तिम्रो हृदय कसैले
कहाँ छुन्थ्यो र?
पूर्वजन्मका यायावरहरू
यस जन्ममा दिगो भई बसे
गति रोकिनेछ
त्यसैले लोभीहरूलाई गाली नगर !
ती कमाउँछन्, कम खर्चन्छन्
अनि मर्छन्
तिनका चितालाई आफन्तले
सुगन्ध र फूलमालाले भर्छन्
उसलाई माटामुनि गाडिदिन्छन्
वा दाउराले जलाउँछन्
उसको अहम् आकासमा उड्छ
अनि सञ्चित संस्कारहरू
फेरि अरुमा पलाउँछन्
लोभीहरू कहिल्यै सकिन्नन् यस धर्तीमा
जीवनभर दुःख गर्छन्, अनि मर्छन्
कमाएको जो छ
सबै यहीँ छाड्छन्
लोभीहरूमाथि दया गर !

भक्तपुर, नेपाल

(सन्तोषकुमार पोखरेल बहुभाषिक अन्तर्राष्ट्रिय कवि हुनुहुन्छ ।)