मेरो देशमा खडेरी परेको छ
राष्ट्रवादीको
ईतिहासले समेटेको भूगोलमा
छिन्नभिन्न छ राष्ट्रवाद
उता परिवर्तन ल्याएर व्यवस्था फेरेको
लडाकु फेरि परिवर्तनकै लागि
इराक पुग्यो अरे
मेरो देशमा खडेरी परेको छ
लडाकुको
देश हेर्न त पुग्नु पर्छ
ती कुमारी गाउँहरू– जहाँ
देशले पहिलो पटक महिनावारी
भोगेको थियो / र सँगै भोगेको थियो
छाउगोठको ओसिलो मझेरी /
मेरो देशमा खडेरी परेको छ
ओभानो मझेरीको– जहाँ सुत्केरीले
हड्डीसमेत सुनिने गरी ठिहिरो सहन नपरोस् /

देश देख्न त राख्नुपर्छ हिम्मत
अडिन ती किशोर पहाडहरुमा, जहाँ
कोदोले टिकाएको छ– अर्थतन्त्र र
बेजोडको चहलपहल देखिन्छ–
सद्भावको नाफामा
मेरो देशमा खडेरी परेको छ
भाइको–
अत्तरले सुवासिलो गराएको
आयातित मोटरबाट फुत्त झरेर
लुसुक्क कंक्रिटको बंगलामा छिरेर
पल्टाइएका ‘हाइब्रिड’ पानाहरूमा कहाँ देखिन्छ देश?
देश छुन त पुग्नुपर्छ ती झुपडीहरूमा, जहाँ
बाह्रमासे अभावले रामलीला देखाइरहन्छ
परन्तु–
खुसी हुन चाह राख्ने वा के हो खुसी नबुझ्ने
ती चिरिएका ओठहरूमा नौनी दल्न पुग्ला को नै?
ल है अब देश हेर्न त पुग्नु पर्छ
युरोप, अमेरिका, जापान र अस्ट्रेलिया
ज्या ! खाडीको त कुरै आएन
आओस् कसरी ? खाडीले पालेको छ
फगत बुढी आमालाई र कुप्रा बा’लाई–
अब रहेन खाडीको त्यो तापको मतलब
किन ?
कारण देशलाई पाल्दैनन् अब ज्यामीहरूले
अब त देश बनाउँछन्
ती सबल, शिक्षित र सुकिलाहरूले
मेरो देशमा खडेरी परेको छ
सुकिलाहरूको

कतै पुग्न नसके, देश हेर्न पुग्नु पर्छ
सामाजिक सञ्जाल र
वैशाखी टेक्दै हिँडेको देशलाई
घुच्चुकमा हान्दै– बहानाका पोथ्राहरूमा
झुण्डिएका–
युवा, कार्यकर्ता, समाजसेवी, शिक्षक
सर्जक, समालोचक र समाचारका सेठहरू
लाई सोध्नुपर्छ–
हाम्रो देश कहाँ छ?
ती बताउलान् हाम्रो देश संसद् भवनमा छ
ए ! मतलब हाम्रो देश अझै हराइरहेछ हगि ?

हाम्रो देशमा खडेरी परेको छ– जनताको ।

 

जापान