ओहो ! यो विशाल मानव नगरी
चाहनाको कोलाहल
अन्यायको चिच्चाहट
सच्चाईको मौनता, र
निर्दोषहरूलाई बलि दिइएको रक्तकुण्डमा

म अझै जिवित रहेछु!

विज्ञानको विशाल प्रयोगशाला
अध्यात्मको सपनी तीर्थ
शक्तिशालीहरूको कोलाहल
गरिबको मौन चिता अनि
निर्दोषहरू पुरिने पापकुण्डमा

म अझै जीवित रहेछु!

न्यायालयको चिरहरण
अपराधीको क्रीडास्थल
निर्दोषहरूको आन्तरिक चीत्कार
अनि बलवान् र पीडकहरूको अट्टहासबीच पनि
म अझै जीवित रहेछु !
टुहुरो बालकको हृदयविदारक चित्कार
भोको पेटको अदृश्य कोलाहल
धनहीन अशक्तको अश्रुरहित रोदन
एकल जीवनको एकान्तको रुवाईका बीच पनि

म अझै जीवित रहेछु !

एकल नारीको जिम्मेवारीको चिच्चाहट
विशाक्त हृदयले दिएको चोट
सम्बन्धहरूले दिएको तिरस्कार, अनि
अपरिचितहरूले दिएको आशाबीच पनि

म अझै जीवित रहेछु !

मृत्युलोक तर्फको अज्ञात यात्रा
देखावटी मानिसका भिड भित्रको सन्नाटा
आफ्नै आत्मसम्मानको आत्महत्या, अनि
आफ्नो खुशी र अस्तित्वको चिरहरण हुँदा पनि

म अझै जीवित रहेछु !

 

दोलखा