नेपालको अनुहार चिन्न

डुबुल्की लगाउनुपर्छ राराको चिसो पानीमा

निस्केर अन्नपूर्णको पदयात्रामा

छिचोल्दै हिमाली चिसो सिरेठो

अनुभूत गर्नुपर्छ लेकाली हावाखोरीलाई

सगरमाथाको उचाइबाट

हिमालय हिमशृङ्खलाको

अविच्चिन्न अनुहार नियाल्नु पर्छ

कर्णालीका अग्ला पहाड

गहिरा खोँच, झरना र ताल

कर्णालीमा जिउनेहरूको

जीवन र सौन्दर्यमा भिज्नु पर्छ

सुदूरपश्चिमका सुगम सौन्दर्य

र प्रकृतिसँग रम्नु पर्छ

तराईका फाँट, टार र भञ्ज्याङहरू छिचोल्नु पर्छ

हेर्नुपर्छ

उपत्यकाका अनुपम वास्तुशैली

जसले बोकेको छ

गौरवशाली इतिहासको विराट ऐश्वर्य

छुन सक्नुपर्छ नेपालीहरूको कोमल हृदय

जसमा साँचिएको छ समृद्ध नेपालको सपना

नेपाल चिन्न

झर्नाको संगीतमा

मुनालसँगै नाच्नु पर्छ

हो नेपाल चिन्न नेपालमै बाँच्नु पर्छ।