यताबाट उता नजर लगायो
उताबाट यता कोल्टे फेर्यो
जताततै, यत्रतत्र, सर्वत्र
तमाशै-तमाशाको भिड छ
र, भीडको तमाशामा
दोबाटोमा अलमल बेसुर यात्री म

आकाशबाट पाताल चियायो
पातालबाट आकाश कोट्यायो
न आकाश बोल्छ
न पाताल सल्बलाउँछ
र, तमाशै-तमाशाको संसारमा
तस्करको लावालस्करले थिचिएको म

अगाडि बढ्न खोज्यो
पछाडिबाट पैताला कुल्चिन्छ
दायाँ-बायाँ लम्कन चाह्यो
छिड्की हाल्नेको ताँती लाग्छ
र, तमाशै-तमाशाको भिरमा
षडयन्त्रको जालोले घेरिएको म

घरदेखि सडक नाप्न खोज्यो
सुकुम्वासीको आरोप लाग्छ
घरबाट दरवार चुम्ने प्रयत्न गर्यो
कुलीनको पगरी गुथाइन्छ
र, तमाशै-तमाशाको कुण्डमा
पौँठेजोरीको चेपुवामा परेको म

उत्तरतर्फ एकतमाशले चियायो
दक्षिणबाट आश्वासन पर्खियो
पूर्व र पश्चिमबाट लेखेटियो
फँसेका छन् आशा र सान्त्वनाहरू एकलास टापुमा
र, तमाशै-तमाशाको शिखरमा
अन्यौलमा विचलित आरोही म

आवेगमा कालो बादल मडारियो
खोलामा बाढीको त्रास बाढी बढ्यो
गाउँ-बस्तीमा विनाश आयो
घर-परिवारमा संकट आयो
र, तमाशै-तमाशाको फूलबारीमा
प्रेतको घेराबन्दीमा छटपटाएको म

सदनतिर खाली सन्नाटा र आक्रोश
सरकारमा रोजी-खोजीको अस्वस्थ होडबाजी
निस्सासिएका नागरिकको कन्तविजोग
स्वार्थ समूहको क्रुर जालोमा अल्झिएको
र, तमाशै-तमाशाको इन्द्रेणीमा
निरन्तर विचौलियाको फन्दामा परेको म

हो, अनकन्टार चारकोशे झाडीमा
निराशा संस्थागत भएको छ
भविष्य बेसहारा भएको छ
निष्ठा र नैतिकता विरानो भएको छ
र, तमाशै-तमाशाको रंगीन दुनियाँमा
अर्को तमाशा हेर्न आतुर बहुलट्ठी म ।