हर कसैले
विषम परिस्थितिमा
कसम खान्छन्
कसै कसैले अवसरमा
कसैले मनैदेखि त कसैले देखावटी
जसले जसरी गरे पनि
दृढ प्रतिज्ञा त हो नि !
ईश्वरको नाममा होस् वा
आमाको नाममा हो वा
छोराको नाममा
माटो छोएर हो वा किताब
प्रतिज्ञाबद्ध रहन्छ
हरेक मान्छे भीष्म हुन सक्दैन
प्रतिज्ञा त भन्ने कुरा न हो
अलिकति भए पनि हिच्किचाउँछन्
तर डर मानीमानी खाएको कसम
आँखा चिम्लेर तोडछन्
काट्छन्,घाँटी निमोठछन्
धज्जी उडाउँछन्
आज खाने सपथहरू
कर्मकाण्डी भैसके
कसमका लागि कसम
प्रक्रियाका लागि कसम
प्रतिबद्धताका लागि कसम
कुकुर, गधा बन्न बेर लगाउँदैनन्
गाई खाने भन्न बेर लाउँदैनन्
विद्यानाश, विद्या कसम
आफ्नै पनि कसम खान्छन्
मरिजानु समेत भन्ने गरिन्छ
देशको कसम
माटोको कसम
देश र जनताका नाममा
दौरा, सुरुवाल लगाएर हुन् वा
टाईसुटमा ठाँटिएर
औपचारिक रुपमा कसम खान्छन्
देखाउन मात्र
नास्तिक देशमा
केको आस्था केको विश्वास
सपथ, कसम, बाचा
आस्था विश्वासमा भर पर्छ
कसमको कुनै सीमा, मापदण्ड हुने भए
कसम तोड्दा कसुर ठहरिने भए
सबैजसोले त कसम खान्थेनन्
पाप पुण्यजस्तै
भावनात्मक नाता मात्र छ कसमको
आखिर कसम त कसमै हो
धीत मर्ने गरी खाऊन्
एक क्षणका लागि
त्यसको प्रभाव व्यापक छ
दीर्घकालीन छ
बुझ्नेलाई श्रीखण्ड
नबुझ्नेलाई खुर्पाको बिँड ।

 

 

परशुराम १२, डडेल्धुरा