अख्राग मिल्छ बोटहरूबाट
मन च्यात्तिन्छ
चुँडिएर लुत्रो हुन्छ
पुरानो भई झुत्रो हुन्छ
आफ्नैको नजरमा भुत्रो हुन्छ
मन जलेर पुरै कालो
अंगार मिल्छ चोटहरूबाट

मन अख्राग थियो
मनमा छुट्टै राग थियो
सपनाका झिल्का मिली बनेको
राँकोजस्तै आगो थियो
धैर्य भरिएको
मनको छुट्टै दिमाग थियो
मन पग्लिन्थ्यो मैनबत्तीजस्तै
जल्थ्यो अरुका लागि
साँचो पिरतीजस्तै
अनि आए मनका चोटहरू सरौँतो बनेर
ढालिए सतिसालका बोटहरूजस्तै

मन
अस्थिर भयो
अधिर भयो
फिरफिर भयो
आफ्नाका लागि पीर भयो
बिग्रेको तक्दिर भयो
मन आफ्नै जीवनको
जञ्जिर भयो
कि मनलाई बिगारियो
कि मन बिग्रियो आफ्नै खोटहरूबाट

मनको पनि मन छ
मनको छुट्टै जीवन छ
मनले मनसँग गर्ने
मनको गनगन छ
मन मनसँग बाझ्छ
मन मनको भनाभन छ
मनले मनसँग कुस्ती खेल्छ
मुक्कामुक्की हानाहान छ
तर मनमै छ
अख्राग वनमै छ
मन अख्राग नि हैन रैछ
न मैनबत्ती रैछ
न सम्पत्ति रैछ
न आहुति रैछ
मन त मन रैछ
खोट भएनि मन रैछ
चोट भएनि मन रैछ
मात्र मनलाई जोगाउनु
ती चोटहरूका रिमोटबाट ।।