शिवाकोटी “राजेन–चन्द्र”

आवाज

यी आवाजका चोइटाहरू
ढकढक्याउन पुगे कर्णद्वारनेर
विवेकसम्म पुग्ने सेतु भएर
कतै आक्रोशमा हाम्फालेर
कतै झिल्का निलेर
कतै सिङ्गै बुद्धलाई च्यापेर
एउटै आवाजमा विभिन्न रङ घोलिन्छ
मुटुको तहसम्म पुगी
चिहाउँछन्
उपद्रव मच्चाएर !

 

लुतो

एक्काइसौँ शताब्दीले गर्भमा पालेको
कुम्भकर्णको निद्रामा परेका
क्षयरोग टाँसिएका यी निर्दोष सन्ततिहरूलाई
झक्झक्याउनलाई … अब
विकासको नारा भुकेर जाऊँ

नेताको खल्तीबाट
एउटा भूकम्प ल्याऊँ …
बिथोलौँ यी भाइरसहरूलाई
कतै लुतो टक्टकिएला कि !!

 

होहल्ला

समय जोख्ने तराजुबाट
यी होहल्लाहरू
अवसादयुक्त पखेरुमा
घोप्टिन पुगेछन्

शंखनादसँगै मन्दिर टेकेका
धराप पाइलाहरूलाई
चेतना खुस्केका वैशाखीले
बामे सर्दै पछ्याउन
बिर्सिएछन् ।

पाकिम, सिक्किम