उठ गोपी
उठ !
मस्त शयनकक्षबाट उठ
मौनता भङ्ग गर
मौनताको चुकुल उखारेर
बाहिरी हेर
बस्ती–बस्तीमा हेर
चोक–चोकमा हेर
यता फर्केर हेर
उता फर्केर हेर
चारैतिर हेर
ठूला
साना
मझौला
सबै–सबै गुप्त प्रकरणका
चाङ फाइलहरू
पल्टाएर हेर
सुनकाण्ड प्रकरण हेर
नक्कली भुटानी शरणार्थी प्रकरण हेर
निर्मला हत्याकाण्ड प्रकरणको
नालीबेली कहाँ गएर अड्कियो?
यसको पनि दस्तावेज हेर
मिटरब्याज पीडितहरूको
गुनासो सम्बोधन भयो कि ! भएन ? हेर

र, हेर
ललिता निवास प्रकरण पनि हेर
मार्क्सवाद
लेलिनवाद

माओवाद
यी तीनै वादका प्रतिपादित
सिद्धान्तहरू हेर
प्रतिपादित विचार र सिद्धान्त
अनुशरण गर्नेहरूको
सत्ता टिकाउने र गिराउने
लुकामारी खेल हेर
ज्याला मजदुरी गर्नेहरूको
जिन्दगीको पाना–पाना छुट्याएर हेर
ती किसानहरूका
खेत
बारी

आलीमा गएर हेर
र, पढ अनि बुझ
किसानहरूका अत्यासलाग्दा
यथार्थ कहानीहरू
बेरोजगारको सूचिकृत फाइल
खोलेर हेर
चोक–चोकमा हेर
बेरोजगारहरूलाई
गल्ली–गल्लीमा हेर
बेरोजगारहरूलाई
वर्षौंवर्षदेखि
धन
मन
श्रम
यी सबै खर्चेर प्राप्त सर्टिफिकेट
अनि,
किताबका ठेलीहरू बोरामा बाँधेर
चुरोटका ठुटाहरू
गाँजाका पोकाहरू

मदिराका बोतलहरू
यिनै नशाहरूसँग रमाइरहेका
देशका एक हुल कर्णाधारहरूको
जमात हेर
वैदेशिक रोजगारीका लागि
बगलीमा राहदानी बोकेर
राहदानीको साथमा
स्वास्नी
छोराछोरी
वृद्ध बा‑आमा

सिङ्गो परिवारको प्रगाढ स्नेह बोकेर
भिसाको प्रतीक्षामा बसिरहेका छन्
देशका अर्को हुल बबुरो
कर्णाधारहरू
यसलाई पनि हेर
आफ्नै स्वार्थ र मोजमस्तीमा लिप्त
ढोगनीय
पुजनीय

माननीयहरूको
चेपारे चेहरा हेर
दूर भेगका जनताहरू
सिटामोल नपाएर
छट्पटाइरहेको बेहाल अवस्थामा
महामहिमहरूका उपचारार्थ
राज्यको ढुकुटीबाट लाखौँ करोडौँ
दोहन हुन्छ यो पनि हेर
अवला नारीका अन्तरकुन्तरका
वेदनाहरू
महसुस गरेर हेर
भविष्यका नक्षेत्र नानीबाबुका
वर्तमान

भविष्य
यी दुवै पक्षहरू अलपत्र छन्
यसमा पनि ध्यान केन्द्रित गर
देशको सीमा नाका जोडिएको
चुच्चे नक्सा चस्मा लगाएर हेर
देश र जनतका हित विपरीत
कुनै पनि कसुर नगर्ने
वाचा कसम खाएका विशेष गरी
उच्चपदस्थ कारिन्दाहरूका यथार्थ चरित्र
शल्यक्रिया गरेर हेर
दलाली
भ्रष्टाचारी

पुँजीपति सामन्तीहरूको
अवैध ऐश्वर्य छानविन गरेर हेर
कतै धर्म संस्कृतिका नाउँमा समाजमा
विकृति त फैलिएको छैन ?
यस प्रश्नको पूणविराम
खोजेर हेर
कतै वैरीका ती
वक्रदृष्टि र क्रोधको भूकम्पले
निर्दोष गौँथलीको त्यो सेतो घर
भत्किएको छ कि ?
यस विषयमा पनि
नजरअन्दाज नगरी हेर
करारमा काम गरेर
जसोतसो गुजारा चलाउने
निर्धो श्रमिकहरूका यथार्थ
निफनेर हेर
व्यपारी र व्यवसायीहरूका
दयनीय दैनिकीलाई हेर
सुदूरका अस्ताउँदो टीठलाग्दो
जनजीवन हेर
महान् सहिदहरूका
त्याग
तपस्या

बलिदानको स्मरण गरेर हेर
र हेर
समग्र देशको हविगत
देशको यी यस्ता यावत् समस्याहरू

यसबाट उत्पन्न फोहरमैला दुर्गन्धलाई
प्रयोगशालामा लैजाऊ

सूक्ष्म अध्ययन गर ।

 

 

क.न.पा. ५, सिन्धुली