चोकमा

दुई महिला

चामलको भाउ बढेको कुरा गर्दैथे

सोह्र पचासको बाइस सय पुग्यो भन्दैथे

त्यहाँ कुरा

सुन सय केजीको होइन

नून एक केजीको थियो

टमाटर प्याज लसुनको थियो

खुद्रा सामान र पैसा चानचुनको थियो

ठूलो केही थिएन कुरा अरु

सोध्दैथे

बोल्दैथे

आँप स्याउको भाउ

फलफूल त अब

बिरामी हुँदा मात्र त होला भनी हाँस्दैथे

घरीघरी

हिसाब पनि गर्दैथे

महँगी बढेकोमा

गुनासो गर्दैथे

त्यस्तै

धारामा पानी नआएकोदेखि

छोरी अस्ट्रेलिया जान लाएको

नातिले मोबाइल नहेरी नखाएको

खै कस्को हो

अस्ति टिकटक लाइभ आएको

एउटाभन्दा अर्थोक भनेर

खै कस्ले पो हो गाली खाएको

कुरा गर्दैथे

लाग्थ्यो

उनीहरूले घर बोलेका थिए

परिवार, छिमेक, समाज बोलेका थिए

अनि

समग्रमा

देश, काल, परिस्थिति बोलेका थिए

उद्वेलित मनस्थिति खोलेका थिए

दिल खोलेका थिए

धेरैपछि

मेसेन्जर, कल भिडियो भन्दा पर

एउटा भेटको पल निकालेका थिए

यो चोकबाट छुट्टिदै गर्दा

ती दुई महिला

यहाँ भवनको भाउ बढेको

तर

भावनाको भाउ घटेको

जीवनको भाउ झनै घटेको कुरा गर्दैथे ।